बागलुङमा टेलिकमको फाइबर सेवा

235
  •  
  •  
  •  

बागलुङ । नेपाल टेलिकमले बागलुङ बजारबाट आफ्नो सेवालाई पूर्णता दिँदै देशमै पहिलोपटक फाइबर तारयुक्त बनाएको छ ।

टेलिकमले बागलुङ बजारमा पहिलोपटक नमूनाका रुपमा आफ्ना सेवालाई गुणस्तरीय बनाउनका लागि कपर प्रविधि (तामाका तार) को प्रयोग हटाई पूर्णतः फाइबर तारको प्रयोग गर्नेगरी ‘फाइबर टु दि होम’ सेवा शुभारम्भ गरेको हो ।
टेलिकमले एक वर्ष लगाएर प्रमुख लाइनका रुपमा जमिनमुनि र शाखा लाइनका रुपमा पोलको प्रयोग गरेर सेवाग्राहीको घरसम्म फाइबर तार बिछ्याउने काम शुरु गरेको थियो ।

नेपाल टेलिकम बागलुङले फाइबर तार बिछ्याउने काम सम्पन्न गरेर सेवाग्राहीको घरघरसम्म तार टाँग्ने र डिभाइस वितरण गरी सेवाको शुभारम्भ गरेको छ ।

नेपालमै नमूनाका रुपमा रहेको फाइबर टु दि होमको सम्पूर्ण काम सम्पन्न भइ सेवाको सञ्चालन गरिएको नेपाल टेलिकमका प्रमुख केशव शर्माले जानकारी दिए ।

टेलिकमले नेपालका विभिन्न ठाउँमा फाइबरमार्फत इन्टरनेट सेवा प्रदान गरे पनि बागलुङमा भने इन्टरनेट र फोन दुवै सेवा फाइबरमार्फत दिन थालिएको हो । पुरानो प्रविधिको कपर (तामाको तार)को प्रयोग गर्दा धेरै प्रकारका तार टाँग्नुपर्ने, इन्टरनेटको गति घट्दै जाने, पटकपटक आउने समस्याले सेवाग्राहीले हैरानी खेप्नुपर्ने अवस्था अब अन्त्य भएको शर्माको भनाइ छ ।

अबको एक महीनाभित्र सम्पूर्ण ग्राहकलाई कपर विस्थापित गरेर फाइबरमा लगिसक्ने योजना रहेको टेलिकमले जनाएको छ ।


  •  
  •  
  •