टेलिकमको बिटीएस टावर जडान

192
  •  
  •  
  •  

संखुवासभा । नेपाल टेलिकमले संखुवासभाको दुर्गम क्षेत्रमा चार बिटीएस टावर जडान गरेको छ ।  मोबाइल फोन नचल्ने दुर्गम क्षेत्रका चार स्थानमा बिटीएस टावर जडान गरएको हो ।

विद्युत् सेवा नभएका कारणले मोबाइल फोन सेवाबाट बञ्चित स्थानीयवासीलाई टावर जडान गरेसँगै सहज भएको छ ।
दुर्गमको समस्यालाई मध्यनजर गर्दै चार स्थानमा सेवा विस्तार गरिएको टेलिकमका प्रमुख राधारमण भट्टराईले बताए ।

टेलिकमले मकालु गाउँपालिका–५ अरुण तेस्रो ड्यामसाइड फयाक्सिन्दा, चिचिला गाउँपालिका–२ इम्चुङ, मादी नगरपालिकाको मावादीन र खाँदबारी–३ को मानेभञ्ज्याङमा टावर जडान गरेको हो ।

पहाडी भू–भागमा धेरैजसो डाँडाकाँडाले छेकिने भएका मोबाइल फोन चल्न नसकेपछि स्थानीयवासीले टावरको माग गरेका थिए । मोबाइल फोन नटिप्ने सभापोखरी गाउँपालिकाको सभापोखरी र स्वाचीमा समेत बिटीएस टावर थप्ने अन्तिम तयारी भइरहेको टेलिकमले जनाएको छ ।

अहिले उक्त स्थानहरुमा सौर्य उपकरणका भरमा बिटीएस प्रणालीमार्फतसेवा सञ्चालन गरिएको हो ।


  •  
  •  
  •