टेलिकमको वार्षिक कार्यक्रम सार्वजनिक, १७ प्रतिशत ग्राहक थप्ने

197
  •  
  •  
  •  

Nepal-Telecom

काठमाडौं, ३० साउन (ओएनएस) : नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०७४÷७५ को वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।

टेलिकमले मुलुकको दूरसञ्चार बजारमा देखिएको प्रतिस्पर्धात्मक वातावरणमा बजार हिस्सा अभिवृद्धि गर्नुका साथै सेवाको गुणस्तर सुदृढ गर्ने कार्यलाई प्राथमिकता दिने खालका कार्यक्रम सार्वजनिक गरेको छ ।

उपभोक्ता वर्गको अपेक्षाअनुरूप दूरसञ्चार सेवा प्रदान गर्ने कार्यलाई प्राथमिकता दिन चालु आवमा विभिन्न कार्यक्रममार्फत टेलिकमले आफ्नो सेवा विस्तारतर्फ १७ प्रतिशत ग्राहक थप गर्ने लक्ष्य लिएको छ ।

कम्पनीको सेवा विस्तार तथा गुणस्तर सुदृढीकरणका लागि करिब रु २२ अर्ब पूँजीगत लगानी गर्ने योजना रहेको टेलिकमले जनाएको छ ।

सत्र प्रतिशत ग्राहक थप गर्ने उद्देश्यअनुरूप टेलिकमले चालु आवमा मुलुकभर गुणस्तरीय जिएसएम सेवा उपलब्ध गराउने लक्ष्यसहित एक वर्षभित्र एक करोड जिएसएम प्रोजेक्टअन्तर्गतका कार्य सम्पन्न गर्ने भएको छ ।

सो सेवाबाट मुलुकका अति विकट तथा दुर्गम स्थानमा समेत जिएसएम सेवा विस्तार हुने टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिइन् ।

हालसम्म पुरानो प्रविधिमा आधारित ल्याण्डलाइन सेवाबाट सञ्चालित आधारभूत टेलिकम सेवा (पिएसटिएन) मध्ये काठमाडौंमा १४ वटा तथा काठमाडौं बाहिरका क्षेत्रमा १५ वटा एक्स्चेन्जमा जम्मा ३९ हजार ३३६ लाइनलाई नयाँ प्रविधिमा प्रतिस्थापन गरी केही समयभित्रै कुल एक लाख ३४ हजार लाइन क्रमिकरूपमा प्रतिस्थापन गर्दै लैजाने टेलिकमले जनाएको छ ।

त्यसैगरी टेलिकमले चालु आवमा इन्टरनेट सेवाको माग बढ्दै गएकाले आगामी दिनमा डाटा सेवाको विस्तार गर्न वायरलाइन तथा मोबाइल डाटा सेवालाई अझ बढी सुविधा र सहजताका लागि ग्राहक माझ प्रस्तुत गर्ने भएको छ ।

चालु आवमा टेलिकमको आम्दानी रु ४४ अर्बभन्दा बढी हुने अनुमान गरिएको छ भने करपछिको मुनाफा रु १५ अर्बभन्दा बढी हुने अपेक्षा गरिएको छ । विसं २०७४ जेठ मसान्तसम्ममा कम्पनीको टेलिफोन ग्राहक आधार एक करोड ७४ लाख ४२ हजार ९२२ रहेको छ । इन्टरनेट ग्राहक आधार २०७४ जेठसम्ममा ८३ लाख ९५ हजार पुगेको छ ।

आव २०७३÷७४ मा कम्पनीको भोवाइस सेवाको ग्राहक आधार १७ प्रतिशत वृद्धि भई टेलिघनत्व ६२ प्रतिशत पुगेको छ । डाटा सेवाका ग्राहक ११ प्रतिशतले वृद्धि भई डाटा घनत्व करिब ३० प्रतिशत पुगेको छ ।

टेलिकमले पछिल्लोपटक देशका विभिन्न स्थानमा बाढी पहिरोबाट पीडित भएकाको उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग पुर्याउनका लागि आइतबारदेखि मंगलबारसम्म आफ्नो नेटवर्कभित्र निःशुल्क एसएमएस सेवासमेत उपलब्ध गराउने भएको छ ।


  •  
  •  
  •