काठमाडौं, ५ साउन (ओएनएस) । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) र सामसुङ मोवाइलको नेपालका लागि आधिकारीक विक्रेता इण्टरनेशलन मार्केटिङ सर्भिसेज प्रालि (आईएमएस) ले संयुक्त रुपमा विशेष योजना सञ्चालनमा ल्याएको छ ।
सोमवार राजधानिमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । जसअन्तर्गत आइएमएसले वितरण गर्ने सामसुङ व्राण्डका ६ प्रकारका मोवाइल सेटका साथमा नेपाल टेलिकमको सिम खरिद गर्दा १० प्रतिशत नगद छुट प्राप्त गर्न सकिने कम्पनीका कार्यकारी अध्यक्ष दिपक मलहोत्राले बताए ।त्यस्तै नेपाल टेलिकमले उक्त सिमकार्ड तथा मोवाइल सेटको खरिदकर्तालाई मोवाइलको मूल्यको १५ प्रतिशत बराबरको टक टाइम अथवा डाटा कार्ड सित्तैमा उपलब्ध गराउने टेलिकमका प्रवन्ध निर्देशक बुद्विप्रसाद आचार्यले जानकारी दिए ।
यसरी प्राप्त हुने सेवा ६ महिनाका लागि प्रत्येक महिना बराबर किस्ताको रुपमा प्राप्त गर्न सक्ने बताइएको छ । यो सेवा आइएमएसका ‘एक्सक्लुसिभ’ ब्राण्ड पसल तथा नेपाल टेलिकमको छानिएका विक्री केन्द्रमार्फत उपलब्ध हुनेछ ।
योजना अन्तर्गत सामसुङको ‘सामसुङ गुरु’ र ‘सामसुङ लकोटा’मोडलको मोवाइल खरिदमा टेलिकमले ‘भ्वाइस’ सेवामा छुट दिने बताएको छ । त्यसैगरी ‘सामसुङ ट्रेण्ड’ ,सामसुङ कोर, ‘ग्यालेक्सी एसथ्री’, र ‘सामसुङ ट्याव थ्रि’ ब्राण्डका मोवाइल सेटमा इण्टरनेट डाटा उपलब्ध गराउने टेलिकमले जानकारी दिएको छ । योजना अन्तर्गत खरिद गरिएका मोवाइल सेटमा एक बर्षको वारेण्टी छ ।
त्यस्तै यी मोवाइलका एसोसेरिजमा पनि ६ महिनाको वारेण्टी उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीले खरिद पछिको समस्यालाई ध्यानमा राख्दै यस योजना अन्तर्गतका मोवाइलमा आउने समस्या समाधानका लागी सामसङको आधिकारिक सेण्टरबाट विक्री पछिको सेवा उपलब्ध गराइने बताइएको छ । आइएमएस र नेपाल टेलिकम विचको साझेदारी ३ बर्षसम्मका लागि कायम रहने बताइएको छ ।