स्वस्तिक आयलको गोदामबाट पाँच ट्रक तेल बरामद

313
  •  
  •  
  •  

काठमाडौं १८ मंसिर ।
कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्न लुकाइएको पाँच ट्रक खाने तेल प्रहरीले काठमाडौंको जडिबुटीबाट बरामद गरेको छ ।

केएल दुगड ब्रदर्शले स्वस्तिक आयल उद्योगमा उत्पादन गरेको पाँच ट्रक धारा तोरीको तेल महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार बरामद गरेको हो ।

‘बजारमा कृत्रिम अभाव सिर्जना गरेर दोब्बर मूल्यमा बेचबिखन गरेको सूचना पाएपछि गोदाममा छापा मारेका हौं’, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाले भने, ‘एक सय २५ देखि एक सय ५० रुपैयाँ लिटर पर्ने तेल ३ सय ५० रुपैयाँमा बेची कालोबजारी गरेको पाइयो ।’

कृत्रिम अभाव सिर्जना गरेर तेल लुकाएको पाइएपछि प्रहरीले स्वस्तिक आयलको जडिबुटीस्थित गोदाम सिल गरेको छ । प्रहरीले गोदमबाट स्वस्तिक आयलका कर्मचारी अमन जैनसहितलार्इ हिरासतमा लिएको छ ।

‘अहिले गोदाममा भएको सबै तेल बरामद गरेका छौं’, एसएसपी थापाले भने, ‘थप तेल लुकाइएको हुनसक्ने भएकाले यसबारे भोलिबाट विशेष अनुसन्धान अघि बढाउँछौं ।’

एसएपी थापाले जनतालाई ठग्दै राताराता कृत्रिम अभाव सिर्जना गरी असहज अवस्थालाई थप जटिल बनाउन लागेकाले केएल दुगड ब्रदर्शमाथि कालोबजारी ऐनअन्र्तगत कारबाही अघि बढाउने बताए ।

‘कालोबजारी रोक्न हामीले दैनिक अपरेशन गरिरहेका छौं’, उनले भने, ‘कृत्रिम अभाव सिर्जना गर्नेहरुमध्ये केहीलाई हिरासतमा लिएका छौं, थप अनुसन्धान अघि बढाइसकिएको छ ।’
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •