नाकाबन्दी खुल्ने हल्लाले तस्कर चिन्तित

147
  •  
  •  
  •  

काठमाडौं २१ माघ ।
इटहरीमा होटल सञ्चालन गर्दै आएका हिरा महतोको घरमा हरेक दिन बिहान मोटरसाइकल र साइकलमा डिजेल र पेट्रोल लिएर आउनेको घुँइचो हुन्छ। उनी मोटरसाइकल र साइकलमा पेट्रोलियम पदार्थ ओर्सानेहरूसँग दैनिक ६० लिटर डिजेल खरीद गर्छन्। डिजेल लिएर आउने जसले सस्तो मूल्यमा दिन्छ उसैसँग खरीद गर्ने उनी बताउँछन्।

मधेसी मोर्चाले पाँच महिनादेखि तराई–मधेस बन्द आव्ह्वान गरेसँगै भारतीय अघोषित नाकाबन्दीपछि सुरुका केहीदिन होटल बन्द भएपनि पछिल्लो समयमा उनलाई कुनै समस्या छैन्। डिजेलको कारोबार चलाउन चाहिएजति डिजेल उनको दैलोमै आउँछ।

‘बिहानै तेल लिएर आउनेको भीड हुन्छ’, उनले भने ‘सस्तो जस्ले दिन्छ उसकै किन्छु।’ भारतीय बजारबाट ८१ रुपैयाँमा आएको डिजेल नेपाल ल्याएर १ सय १० भन्दा माथि र पेट्रोल १ सय १२ रुपैयाँमा ल्याएर १ सय ५० रुपैयाँभन्दा माथि बिक्री गर्ने गरेका छन्।

भारतीय बजारबाट तस्करी गरेर ल्याएको इन्धन बोकेर बिचौलियाहरु घरघरमा पुग्छन्। उद्योग वाणिज्य संघ इटहरीका महासचिब दिवश पोखरेलका अनुसार तेलको कालोबजार खुलेआम मौलाएको छ।

इटहरीबाहेक सुनसरीको इनरुवा, झुम्का, खनार, सोनापुर, दुहवी, भेण्टाबारी, लौकहीलगायतका स्थानमा पेट्रोलिमय पदार्थ बिक्री गर्न प्रसस्तै केन्द्र खोलिएका छन्। यी स्थानमा पेट्रोलियम पदार्थ बिक्री गर्न खोलिएका केन्द्रलाई ‘मिनी पेट्रोल पम्प’ नै मानिन्छ।

तेल खरिद बिक्री गर्दै आएका भोक्राहाका नयिन उदीनकाअनुसार भारतबाट अवैध पेट्रोलियम ल्याउँदा सीमा क्षेत्रका प्रहरीलाई घुस दिनुपर्छ। ‘देवानगन्ज प्रहरी र हरिनगरा प्रहरीलाई हप्तावारी पाँच सयदेखि माथि पैसा बुझाउँछु’, उनले भने ‘पैसा बुझाएबापत दैनिक एक सयदेखि एकसय बीस लिटरसम्म साइकलमा जर्किन लोड गरेर ल्याउन पाइन्छ।’

नेपाल–भारत सीमामा बस्नेलाई पेट्रोलियम पदार्थ बिक्री गर्दा मालामाल कमाई भइरहेको छ। भुटाहाका सन्जय दासका अनुसार भारतीय सीमा क्षेत्रमा बसोबास गर्ने हरेक नेपालीको यतिबेला पेट्रोलियम पदार्थ ल्याएर बिक्री गर्नु दैनिकी बनेको छ। उनले हरेक दिन घुस्कीका तीनवटा स्थानमा भण्डारण गरि राखेको डिजेल–पेट्रोल किनेर इटहरीसँगै आसपासका क्षेत्रमा बिक्री गर्छन्। उनको एकाएक कमाई बढेको छ। दासले नाकाबन्दी अरु केहीदिन लम्बिए कमाई बढ्ने आशा गरेका छन्। नाकाबन्दी खुल्ने हल्ला उनकालागि रूचीकर लागेको छैन। उनको चिन्ता मिश्रित प्रश्न छ- ‘अहिले नै खुल्छ होला त नाकाबन्दी?’
नागरिकबाट


  •  
  •  
  •