दुर्घटना कम गराउन कार्की विश्वयात्रामा…

206
  •  
  •  
  •  

tejbahadur karkiविराटनगर, २९ चैत(ओएनएस) : दैनिक जसो हुने सवारी दुर्घटनाले धेरैको ज्यान लिइसकेको छ भने कतिपय अंग-भंग भएका छन् । सवारी दुर्घटनामा परी घाइते भएका एक व्यक्ति दुर्घटना कम गराउने उदेश्यले विश्व यात्रामा निस्किएका छन् ।

सवारी साधन चलाउँदा चलाउँदै दुर्घटनामा परी अपाङग भएका तेजबहादुर कार्कीले आफूले पाएको जस्तो पिडा अरूले नपाउन् भन्ने कामना गर्दै विश्व यात्रामा निस्किएका हुन् । ओखलढुंगा जिल्ला फाप्चा गाविस ४ का तेजबहादुर कार्कीको १४ वर्षअघि घटेको अकल्पनीय दुर्घटनालाई बिर्सन र सवारी दुर्घटनालाई कम गर्न विश्व ह्वील चियरमा निस्किएका हुन् ।

२०६१ साल देखी यात्रा सुरु गरेका उनले ८ वटा राष्ट्र भ्रमण गरी सकेका छन् । भ्रमणकै क्रममा बिरामी परेका उनी डेढ महिना अघि कोशी अञ्चल अस्पताल भर्न भएका थिए । स्वास्थ्य अवस्थामा सुधार आएपछि उनी पुनः यात्रामा निस्किएका हुन् ।

चालकको होडबाजीले गर्दा अधिकांश दुर्घटना हुने भएकाले सडकमा भेटिएका चालकलाई उनी भन्छन्, ‘गाडी कुदाउनु भन्दा अघि आफ्ना पछाडी भएका यात्रुलाई हेर्नुहोस । गन्तव्यमा नपुगुन्जेल उनीहरुको जिन्दगी तपाऐँको हातमा हुन्छ । विचार पुर्याएर गाडी कुदाउनु ।’

tejbahadur karki1सवारी दुर्घटनामा परी दुवै खुट्टा गुमाएका उनी ह्वीलचियरको सहायतामा यात्रामा निस्किएका हुन् । काँकडभिट्टा–काठमाडौँ रूटको रात्रीबसका चालक कार्की २०५७ साल माघ २३ गते धादिङको जोगिमाराबाट दुई सय मिटर तल त्रिशुली नदीमा खसे । टर्निङमा हेण्डल भाचिएपछि उनले यात्रुलाई बचाउने कोशिस गरे । हेण्डल भाँचिनसाथ पछाडी फर्केर हेरे उनले भने ‘ सबै यात्रु सुतिरहेका थिए । मैले गाडी छाडेको भए त केही हुदैन थियो होला तर, अरू त जादैँछन् भनेर म निस्किन ।’ बस खस्दा ३२ जनाको मृत्यु भयो । उनीसँगै १० जना यात्रु बाचे ।

दुर्घटना भएको तिन महिना पछि उनको होस खुल्यो । होस खुलेपछि उनले दुईवटै खुट्टा गुमाएको अवस्थामा आफुलाई पाए । घटना भएको ४ बर्ष पछि मात्र उनको स्वास्थ्य अवस्था सुधार भयो । बससँगै खसेका उनी लामो उपचारपछि बाँच्न त बाँचे । तर, उनको कम्मरमुनीको सबै भाग काट्नुपर्यो ।

दुवै खुट्टा काटेपछि उनी ह्वीलचियरको सहाराबिना हिड्न नसक्ने भए । अपाङगले पनि सपाङग सरह नै हिडडुल गर्न सक्ने भन्ने सोच उनमा थियो । २०६१ साल जेठ ४ गते केही सहयोगी लिएर कार्की ह्वीलचियरको सहारामा विश्व यात्रामा निस्किए ।

सार्क राष्ट्रको भ्रमण सकेर उनी पूर्वी एसियाको भ्रमण गर्न निस्कँदा कलकता पुगेपछि बिरामी परे । भ्रमणकै क्रममा बिरामी भएका उनी फागुन १२ गते कोशी अञ्चल अस्पताल भर्ना भएका थिए । अञ्चल अस्पतालमा डेढ महिना लामो उपचारपछि शुक्रबार यात्रामा निस्किएका छन् ।

अस्पतामा उपचारपछि यात्रामा निस्कदै गर्दा उनले भने, ‘नेपालका मनाङ मुस्ताङ सहित ४ जिल्ला घुम्म बाँकी छ । ४ जिल्ला घुमेपछि मलेसियाबाट यात्रा सुरु गर्छु ।’

‘नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलङ्का, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तान घुमिसकें,’ उनी भन्छन्, ‘ ह्वइलचियरबाट विश्वयात्रामार्फत गिनिजबुकमा नाम लेखाउने इच्छा छ ।’

उनी सवारी दुर्घटनाले धेरैले ज्यान गुमाएको र अङगभङग भएको भन्दै दुर्घटना नहोस् भन्ने कामना पनि गर्दै छन् । उनी भन्छन्, ‘ अधिकासं दुर्घटना चालकको लापरवाहीले हुन्छन् । गाडी चलाउनु भन्दा अघि चालकले सबै इन्जिन जाँच गर्नु पर्छ ।’

ह्वीलचियरबाट विश्व भ्रमण गर्ने सपना बोकेका उनी अपाङगपनि सपाङग भन्दा केही कम छैनन् भन्ने देखाउन चाहन्छन् ।

राष्ट्रिय झण्डा बोकेर देशको गौरव बढाउदै हिडेका उनै कार्कीले सरकारबाट भने कुनै सहयोग पाउन सकेका छैनन् । उनी भन्छन्, ‘ विदेशमा जादा विभिन्न देशमा सहयोग गरे तर आफ्नै देशबाट सहयोग त के यात्रा अनुमतिपत्र पाउन समेत धेरै दुःख खेप्नु पर्यो ।’

नेपाल सरकारले अपाङगता भएकाहरुलाई वास्ता नगर्ने उनको गुनासो छ । उनी भन्छन्, ‘ हाम्रो भोट त अपाङग हुदैन् तर हामीलाई गर्ने व्यवहारचाहीँ किन फरक ?’


  •  
  •  
  •