ह्वीलचियरबाटै विश्व घुम्ने चाहना

163
  •  
  •  
  •  

विराटनगर, ६ चैत (ओएनएस) :  ओखलढुंगा जिल्ला फाप्चा गाविस–४ का तेजबहादुर कार्कीको जीवनमा १४ वर्षअघि अकल्पनीय घटना घट्यो । काकडभिट्टा –काठमाडोैं रुटको रात्रिबसका चालक कार्की २०५७ साल माघ २३ गते अचानक दुर्घटनामा परे । उनले हाँकेको रात्रिबस धादिङको जोगिमाराबाट दुई सय मिटर तल त्रिशुली नदीमा खस्यो । बस खस्दा सवार ३२ जनाको मृत्यु भयो । उनीसँगै १० जना यात्रु बाच्न सफल भए ।

दुर्घटनाका क्रममा गम्भिर घाइते भएका उनको जब होस खुल्यो तब उनी छागाबाट खसे । बससँगै त्रिसुलीमा खसेका उनी होसमा आउदा आफनो कम्मरमुनीको भाग गुमाईसकेका थिए ।

बससँगै खसेका उनी लामो उपचारपछि बाँच्न त बाँचे । तर उनको कम्मरमुनीको सबै भाग काट्नुपर्यो । दुवै खुट्टा काटेपछि उनी ह्वइलचियरको साहराबिना हिड्न नसक्ने भए । शारीरिक रुपमा अपाङ्ग जीवन जीउँदा भोगेको पीडाले उनलाई विस्तारै पिरोल्न थाल्यो ।

दुवै खुट्टा गुमेपनि उनले हिम्मत हारेका थिएनन् । अपाङ्गता भएकाले पनि केही गर्न सक्छन् भन्ने उत्साह थियो उनीसँग । उनी भन्छन् ‘ बस खस्दा म भाग्यले बाँचेछु, कहाँबाट कसले लगेर उपचार गर्यो केही थाहा छैन् । सायद विश्व यात्रा गर्नकै लागि बाचेको हुँ जस्तो लाग्छ ।’

कार्कीले विश्व साइकल यात्रामा निस्किएका पुस्कर शाहको अन्तरवार्ता टिभीमा हेरेका थिए । ‘त्यो अन्तरवार्ता हेरेपछि जीवनले नयाँ मोड लियो,’ कार्की भन्छन्, ‘मलाई पनि विश्वयात्रामा निस्किन मन लाग्यो ।’

अन्तत २०६१ साल जेठ ४ गते । केही सहयोगी लिएर कार्की ह्वीलचियरको सहारामा विश्व यात्रामा निस्किए । कार्कीले हाल सम्म आठ वटा देश भ्रमण गरिसकेका छन् ।

‘नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलङ्का, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तान घुमिसकें,’ उनी भन्छन्, ‘ ह्वीलचियरबाट विश्वयात्रामार्फत गिनिजबुकमा नाम लेखाउने इच्छा छ ।’

दक्षिण एसियाली राष्ट्र घुमिसकेपछि उनी भारत हुँदै म्यानमारको यात्रामा निस्किएका थिए । तर म्यानमारमा हवाइजहाजबाट आउनु भन्दै त्यहा“का सेनाले फर्काइ दिए । सेनाले फर्काएपछि उनका सहयोगीहरुले पनि साथ छाडिदिए । २०७० साल माघमा नेपाल फर्किनुपर्ने बाध्यता आइलाग्यो ।

घर फर्किएपनि उनले हिम्मत हारेनन् । कार्की फेरि चार महिना अघि नेपालबाट यात्रामा निस्किएका थिए । भारतको कलकत्तामा पुगेपछि उनको स्वास्थ्यमा समस्या देखा पर्यो ।

धेरै ह्वीलचियरमा बसेका कारण पछाडि घाउ भएछ । घाउ निस्किएर ह्वीलचियरमा बस्न नसक्ने कार्की विराटनगर फर्किए ।

फागुन १२ गतेदेखि उनी उपचारका लागि अस्पताल भर्ना भएका छन् । कोसी अञ्चल अस्पतालको सर्जिकल वार्डमा उनको उपचार भइरहेको छ । ह्वीइलचियर यात्रा गरिरहँदा स्वास्थ्यमा थप समस्या देखिएपछि उनको विश्व घुम्ने सपनामा ब्रेक लागेको छ ।

फगुन १२ गते अस्पतालमा भर्ना भएका कार्कीको उपचार त निशुल्क गरिएको छ । तर विरामी कुरुवालाई खाना खुवाउन समेत रकम अभाव उनीस“ग । उनी भन्छन् ‘ मेरो उपचार त निशुल्क हुँदैछ । मलाई कुर्न श्रीमती आएकिछिन् । मस“ग यीनलाई खाना खुवाउने समेत रकम छैन ।’

tejbahadue-karki (1)

ह्वीलचियरबाट विश्व भ्रमण गर्ने सपना बोकेका उनी अपाङगपनि सपाङग भन्दा केही कम छैनन् भन्ने देखाउन चाहान्छन् । राष्ट्रिय झण्डा बोकेर देशको गौरव बढाउँदै हिडेका उनै कार्कीले सरकारबाट भने कुनै सहयोग पाउन सकेका छैनन् । उनले भने ‘ विदेशमा जादा विभिन्न देशमा सहयोग गरे तर आफ्नाे देशबाट सहयोग त के यात्रा अनुमतीपत्र पाउन समेत धेरै दुःख खेप्नु पर्याे ।’

नेपाल सरकारले अपाङगता भएकाहरुलाई वास्ता नगर्ने उनको गुनासो छ । उनी भन्छन ‘ हाम्रो भोट त अपाङग हुँदैन तर, हामीलाई गर्ने व्यावाहार चहि किन फरक ?’

अरुले दिएको सहयोगबाट नै विश्वयात्रा गर्ने उद्देश्य छ उनीसँग । आइतवार अञ्चल अस्पताल पुगेका उनले थपे ‘ उपचारका लागि अझै अस्पतालमा दुई हप्ता बस्नुपर्छ । घाउ ठीक भएपछि फेरी यात्रामा निस्कन्छु ।’

निको हुँनासाथ चारजना सहयोगी खोजेर यात्रामा निस्कने उनी बताउँछन् । आठ वटा राष्ट्र घुमिसकेका उनि अब भने मलेसीयाबाट यात्रा सुरु गर्ने तयारीमा छन् ।


  •  
  •  
  •