तीन महिनामा ९६ बलात्कार, १९ बलात्कार प्रयास

195
  •  
  •  
  •  

बलात्कार विरुद्धको राष्ट्रिय अभियान सुरु

सम्झना पौडेल
काठमाडौं, १२ वैशाख (ओएनएस) : गत वर्षको पुषदेखि फागुन महिनाको अन्त्यसम्म (तीन महिनाको अवधि)मा ९६ वटा बलात्कार भएका छन् ।
सोही अवधिमा १९ वटा बलात्कारको प्रयास भएका छन् । २० वटा यौनिक हिंसाका घटना घटेका ओरेक नेपालले जनाएको छ ।
बलात्कार विरुद्धको राष्ट्रिय अभियान सुरु भएको दिन शुक्रबार राजधानीमा भएको राष्ट्रिय बहसमा सार्वजनिक अवधारणा पत्रमा बलात्कारको शिकार धेरैजसो १६ वर्ष मुनिका बालिकाहरु रहेको उल्लेख छ ।
महिला हिंसा न्यूनिकरण र अन्त्यको लागि पटकपटक दवाव दिएपनि सुनुवाई नभएको महिला अधिकारको विषयमा कार्यक्रम गर्दै आएका विभिन्न संघसंस्थाले उल्लेख गरेका छन् ।
महिला हिंसा रोक्नको लागि वैशाख १५ गतेसम्मको अल्टिमेटम दिएका ती संस्थाहरुले अभियानको क्रममा सञ्चालन गर्ने विभिन्न कार्यक्रमहरुको सूची पनि सार्वजनिक गरेका छन् । जसअन्र्तगत भोलि शनिबार राष्ट्रिय बहसले पहिचान गरेका सवालहरु समेटेर घोषणा पत्र जारी गरिनेछ । यस्तै वैशाख १४ गते पैरवीको लागि तालिम तथा धर्नाको घोषणा गरिनेछ ।
महिला माथि बढ्दो हिंसा, यौन हिंसा र न्यायको पहुँमा रहेको असहजताका बिषयमा राजधानीमा आयोजित राष्ट्रिय बहसमा बोल्दै महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष डा. रेणु राजभण्डारीले महिलाले न्याय पाउनका लागि कानुनमा लेखेर तथा भाषणमा बोलेर मात्र नहुन भन्दै व्यवहारमा उतार्ने कोशिस गर्नुपर्ने बताइन् ।
यस्तै महिला आयोगकी अध्यक्ष सेख चाँद ताराले कमजोर सामाजिक संरचना, साघुँरो सोच, फितलो कानुनले गर्दा महिला हिंसाको घट्नुको सट्टा बढेको बताइन् ।
नेपाली कांग्रेसकी सभासद् सारदा पौडेलले महिला हिंसालाई निमिट्यान्न पार्न नसके पनि उठान गर्न सफल भएकोले आगामी दिनमा सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरिन् ।
अभियानकर्मी देवकुमारी महराले चेतनाको कमीले पीडितहरु विभिन्न डर त्रास र लोभमा पर्ने हुँदा स्थायी न्याय दिलाउन सफल नभएको बताइन् ।
महिला अधिकारको क्षेत्रमा काम गर्दै आएका ओरेक नेपाल, राष्ट्रिय महिला आयोग, महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल लगायतका संस्थाले अभियान थालेका हुन् ।

  •  
  •  
  •