काठमाडौं, ६ मंसिर (ओएनएस) : संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा दलहरुबीच केहि सातादेखि भएको विवाद आइतबारबाट हल हुने भएको छ ।
शनिबार साँझ संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसहित प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भएको बैठकमा संवाद समितिको प्रतिवेदन संबिधानसभामा पठाउने सहमति भएको हो । त्यसै अनुरुप संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले समितिको बैठक आइतबार बिहान १० बजेको लागि बोलाएका छन् ।
भट्टराईले संवाद समितिको बैठकबाट नै प्रतिवेदन पठाउनेबारेमा निर्णय गर्ने गरी शीर्ष नेताहरु सहमत भएको जनाएका छन् । बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संविधानसभाका अध्यक्ष नेम्वाङ र संवाद समितिका सभापति भट्टराई सहभागी थिए ।
शनिबार साँझ प्रधानमन्त्रि निवास बलुवाटारमा २ घण्टासम्म चलेको उक्त बैठकले तत्काल प्रतिवेदन संबिधानसभाको बैठकमा पठाउने र सार्क शिखर सम्मेलन सकिए लगत्तै संबिधानसभाको बैठक डाक्ने प्रक्रिया बढाउन नेताहरु एकमत भएका हुन् ।
ओएनएसँग कुरा गर्दै अध्यक्ष नेम्वाङले भने ‘दलहरुबीच एक तहको समझदारी बनेको देखिन्छ । मलाई विश्वास छ, आइतबार संवाद समितिको बैठक बस्छ, जुन बैठकले प्रतिवेदन संबिधानसभामा पठाउछ ।’ नेताहरुका अनुसार केहि दिनदेखि भएका बिभिन्न अनौपचारिक बैठकहरुमा संघियता, शासकिय स्वरुपलगायतका बिषयमा भएको विवाद र संबिधान जारी भएपछिको सरकारलगायत बिषयमा खुलेर कुरा भएको छ । सार्क सकिएपछि ती बिषयमा औपचारिक सहमति हुनेछ ।
सार्कमा भाग लिने आउने छिमेकी मुलुकका सरकार प्रमुखहरुलाई सकारात्मक सन्देश दिन आइतबार सहमति गरेर तत्कालको लागि विवाद नभएको सन्देश दिन दलहरुले सहमति गरेका हुन् । यसअघि संविधानको विवादित विषयमा सत्तारुढ का“ग्रेस–एमालले सात प्रदेशसहितको साझा प्रस्ताव संवाद समितिमा पेस गरेपछि सत्तारुढ दल र विपक्षी एमाओवादी लगायतबीच विवाद बढेको थियो ।