‘पाइन खबर, घरफर्की आउनुहोस् मेरो हजुर’

205
  •  
  •  
  •  

सम्झना गैरे- 

‘पाइन खबर, घरफर्की आउनुहोस् मेरो हजुर’ ,

कमाईका लागि मुग्लान पस्नुपर्र्ने पुरुषको बाध्यता र कलिलै उमेरमा विवाह गरी बालबालिका र घरपरिवार समाल्नुपर्ने नेपाली नारीको प्रतिनिधित्व गर्दै २०४३ सालमा पहिलोपटक सबैको मन छुनेगरी गायिका हरीदेवी कोइरालाले यो गीत गाउदा सबै महिलाले आफ्नै बेदना सुन्न पाएको महसुस गरेका थिए । आजको नेपाली समाजमा पनि यो गीत उत्तिकै सान्दर्भिक लाग्छ ।

‘भृकुटी र सीता जस्ती नारीको देशमा,
यो देशका चेलीबेटी अहिले बिदेशमा’

लगत्तै उनले चेलिबेटी बेचबिखनबारे सन्देशमूलक गीत गाइन् । चालिसको दशकको नेपाली समाज सम्झिदै कोइराला भन्छिन्, ‘त्यो समयमा समाजमा सन्देश बाँड्ने पर्वकारुपमा तिज मनाइन्थ्यो । समाजका कुरीती र बिसंगतीलाई हटाउन परिवार, समाज र देशभित्र हुने असमानता र विभेदबारे खुलेर गीत गाँउथे नेपाली महिलाले ।’
४३ सालबाट सुरुभएको तीज गायन यात्रालाई उनले अहिलेसम्म निरन्तरता दिइरहेकी छन् । समाजिक क्रान्ति ल्याउन उनले विधुवा दिदीबहिनीको कथालाई समेत गीत बनाईन् ।

‘सेतै पहिरनमा चेली देख्दा कसको मन रुन्न र, विधुवाले रातो लगाउन किन हुन्न र ? अलच्छिनी, टोकाई भन्छन् देखे साइत पर्दैन्, यो समाजले विधुवालाई यति गर्दैन् । रुढीबादी कुसंस्कारका अनेक कुरा गर्दिछन्, सिन्दुर पुस्छन्, चोरा फोड्छन्, पोते खोस्दिन्छन् ।’

यो गीतले समाजमा तरंग ल्याएको उनको अनुभव छ । ‘धेरै एकल महिलाले अझैपनि तपार्इंको गीतले हिम्मत बढायो भन्नुहुन्छ ।’ भन्दै उनले आफूले गीतहरु समाज परिवर्तन र महिलाहितकालागि मात्र गाउने बताईन् ।

देशमा भ्रष्टाचार व्याप्त भो, सिर्जनाकी धनी कोइरालालाई चुप लागेर बस्न मन लागेन, र मन्त्रीको बिकृतीलाई तिजको गीत बनाइन् । उनीसँगै नेपाली नारीले देशैभरी भ्रष्टाचार विरुद्ध तीजमा गीत गाएर नाचे ।

सयौँ वर्षपुरानो भाकालाई जोगाउदै हरिदेवीले ‘जमुनाको तिरमा हम्क्याईलो, ए सुकिला र मुकिला हम्क्याईलो, ए हाम्रै बाबा हुन्क्यारे हम्क्याईलो’ भन्दै त्यो समयमा तीज आँउदा चेलीको आखाँ दोवाटोमै हुने र माइती कहिले लिन आउलान् भन्ने आशमा दिन बिताउने परम्परालाई समेत भाकाबद्ध गरी सबैलाई सुनाईन् ।

तीजको आफ्नै शैली र भाकालाई जीवन्तता दिदै आउनेक्रममा उनले पारिवारिक हिंसा, संविधान निर्माण, तीजको धार्मिक समाजिक महत्व दर्शाउदै आजका पुस्तामा हजुरआमापालाका गीतलाई समेत जीवन्तता दिनुपर्ने आवश्यता महशुस गरिन् ।

‘संसार छोडि गयौ आमा
सकिएन फर्काउन,
आयो तीज म छोरीको
मन रुवाउन
छनत सबैछन तर आमाको भन्दा ठूलो छैन महिमा ।’

भन्दै उनले आमाको महत्व दर्शाउँदै भाका हालिन् । चेलीको मन यो गीतले रुवायो । ‘पहिला समाजका घटेका घटनालाई तीज मार्फत उजागर गरिन्थ्यो । एक प्रकारले तीजले सन्देश वोकेको संचारमाध्यमको भूमिका निभाएको थियो ।’ भन्दै उनले गर्वका साथ भनिन्, ‘पुरानो समाजमा तीजलाई चेतना र वाक स्वतन्त्रताको प्रतिक बनाइएको थियो ।’

उनको गायनयात्राकोे निरन्तरतासँगै तिज पनि बदलियो । मनाउने शैली बदलिए । सम्रगमा तीजका गीत नै बदलिए । यो बदलावलाई उनले नजिकबाट नियालेकी छन् । तरपनि आफ्नो गीतलाई पुरानै भाका र शैलीमा गाउँदै आइरहेकी छन् । यो वर्ष उनले ‘आमाको सम्झना’ र ‘फेवाताल बिरामी छ’ भन्दै तीज गीत गाइन् तर, संचारमाध्यममा उनका गीत घन्किन छाडे । ‘मिडियाले समाजप्रतिको जिम्मेवारी बिर्सेजस्तो छ’, भन्दै काइरालाले ‘पर्वगीत’ लाई छाडा संस्कृती बनाएकोमा दुःख व्यक्त गरिन् । ‘तिजको सुगन्ध आजभोली सबैतिर कसरी झन्किएको छ, मैले भन्नुपर्दैन् । सबैले बुझेकाछन्, तर पर्व भड्किलो हुँदा १० बर्षपछिका पुस्ताले कस्तो तीज मनाउलान् ?’ उनले चिन्ता व्यक्तगरिन् ।

तीज भड्किलो बन्दै गरेको त सबैले महशुस गरेका छन् । तर कस्ता गीतलाई महत्व दिने भन्ने जिम्मेवारी मिडियाको भएको भन्दै कोइरालाले आजभोली समाजमा तीज मनाउने शैली संचारमाध्यमकै कारण बदलिएको समेत टिप्पणी गरिन् । त्यसो त आफ्ना गीत जस्तै आफुले तीज मनाउने शैलीमा परिवर्तन नआएको समेत उनले ओएनएसलाई सुनाइन् । ‘म सरल, सादा र समावेशी तरिकाले तीज मनाउछु । भड्किला कार्यक्रममा निमन्त्रणा आएपनि जान्न ।’


  •  
  •  
  •