रंगेली घटना अध्ययनका लागि विज्ञ टोली

133
  •  
  •  
  •  

काठमाडौँ, ३ फागुन(ओएनएस) : मधेस आन्दोलनका क्रममा मोरङको रंगेली र डायनियामा सर्वसाधारणको हत्या भएको घटनाको अध्ययनका लागि राष्ट्रिय मानवअधिकार आयोगले विज्ञ टोली खटाएको छ ।

गत माघ ७ गते रंगेली र डायनियामा भएको घटनामा तीन जना सर्वसाधारण मारिएका थिए । घटनामा सुरक्षाकर्मीले चलाएको गोली लागेर रंगेली ४, चोपडा टोलकी ६० वर्षीया द्रोपदीदेवी चौधरी, बरडंगा २ का महादेव ऋषिदेव र डायनिया ९ का शिवु माझीको मृत्यु भएको थियो ।

सोही घटनाको अध्ययनका लागि आयोगले गठन गरेको विज्ञको अनुसन्धान टोलीमा आयोगकी प्रवक्ता तथा प्रवक्ता मोहनी अन्सारी, सदस्य गोविन्द शर्मा पौड्याल, क्षेत्रीय निर्देशक र अधिकृतहरू रहेका छन् । अनुसन्धान टोलीले घटनास्थलको निरिक्षण गर्नुका साथै जिल्लाका प्रशासन प्रमुख सुरक्षा निकायका प्रमुख, र प्रत्यक्षदर्शीहरूसँग बयान लिनेछ ।

आयोगको प्रारम्भिक अनुगमनमा मानवअधिकार हनन हुनेगरी सर्वसाधरणको हत्या भएको पाइएपछि विस्तृत अध्ययन गर्न केन्द्रबाट टोली खटिएको हो। आन्दोलन गरिरहेको मधेसी मोर्चा र एमाले कार्यकर्ताबीचमा झडप हुदाँ सुरक्षाकर्मीहरुले गोली चलाएका थिए ।


  •  
  •  
  •