टिचिङको क्यान्टीनमा म्याद नाघेका खाद्यन्न

250
  •  
  •  
  •  

काठमाडौं १४ पुस । टिचिङ हस्पिटलको मुख्य क्यान्टिनमा म्याद नाघेका खानेकुराहरू बिक्री भएको फेला परेको छ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको संयोजकमा उपभोक्ता अधिकार अनुसन्धान मञ्च र प्रहरीसहितको टोलीले गरेको अनुगमनमा यस्तो भेटिएको हो । क्यान्टिनमा धेरै मूल्य लिने, मूल्यसूची नराखी कारोबार गरेकोलगायत उजुरीका आाधारमा विभागले अनुगमन गरेको हो । टोलीले शुक्रबार टिचिङ हस्पिटलको मुख्य क्यान्टिन, एनबी चमेना गृह र सँगै रहेको बेकरी र कोल्ड स्टोरमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा दुवै क्यान्टिनमा कैफियत भटिएको थियो ।

‘अनुगमनका क्रममा म्याद नाघेका सामान धेरै थियो,’ विभागका अनुगमन अधिकृत रत्नेश शशीले भने, ‘केही सामनलाई नष्ट र केही जफत गरेका छौं ।’ उनका अनुसार क्यान्टिनभित्र रहेको अधिकांश मसला, जिरा, खुर्सानी, बेसारलगायतको म्याद सकिएको थियो । जुस, बिस्कुट, बेकरी, जुस उत्पादनलगायत लेबल राखिएको थिएन । उत्पादित सामानमा बजार मूल्य, उपभोग्य मिति उल्लेख भएकालाई लेबल भनिन्छ । यसबाट उपभोक्ता आफूले उपभोग गर्ने सामानबारे विस्तृत जानकारी पाउँछन् । तर लेबल नहुँदा उपभोक्ता यो सूचनाबाट वञ्चित हुनेछन् ।

उपभोक्ता संरक्षण ऐन २०५४ ले उत्पादकको नाम, ठेगाना, वस्तुको मूल्य, ब्याच नम्बर, उत्पादन र म्याद सकिने मिति अनिवार्य रूपमा उल्लेख गर्न भनेको छ । कानुनले यी सबै विषय नखुलाई सामान बेच्नु गैरकानुनी भनेर प्रस्ट पारेको छ । यस्तै केेही खानेकुरा नछोपी राखेको, मूल्यसूची नराखेको जस्ता कैफियत भेटिएको थियो । ‘म्याद सकिएको, लेबल नभएको सबै सामान जफत गरेर विभागमा ल्याएका छौं,’ शशीले भने, ‘३ प्याकेट चाउमिन भने अनुगमन स्थलमै नष्ट गर्‍यौं ।’ त्यसक्रममा करिब ३ बोरा म्याद नाघेका, लेबल नभएको सामान जफत गरिएको थियो ।

अस्पतालजस्ता संवेदनशील क्षेत्रमा म्याद नाघेको, लेबल नभएको खाद्य पदार्थ भेटिनु उपचार गराउन जाने थप बिरामी हुने सम्भावना रहेको उपभोक्तावादीहरू बताउँछन् । ठगी गर्ने व्यवसायीलाई कानुनअनुसार कारबाही गर्नुपर्ने उनीहरू बताउँछन् । अनुगमनमा सहभागी मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले क्यान्टिन सञ्चालकले धेरै लापरबाही गरेको फेला परेको बताए । व्यवसायीले उपभोक्ताको जीउज्यानसँग खेलबाड गरेको उनले बताए ।

‘अनुगमनका क्रममा ३ महिनादेखि म्याद सकिएको सामान बेच्ने गरेको, खानेकुरा नछोपी राखेको, खानेकुरामा बढी मूल्य लिएको, अस्पताल प्रशासनसँग गरिएको सम्झौता देखाउन नसकेको जस्ता कैफियत भेटियो,’ उनले भने, ‘क्यान्टिन सञ्चालकले सामान्य नागरिकलाई लुटेको छ । यस्ता व्यवसायीलाई कानुनअनुसार कारबाही गर्नुपर्छ ।’ अनुगमनको क्रममा पटकपटक मूल्य सूची राख्न निर्देशन दिइए पनि सुधार नगरेको उनले भनाइ छ ।

विभागका अनुगमन शाखा निर्देशक हरिनारायण बेल्बासेले क्यान्टिनमा अत्यधिक परिमाणमा लेबल नभएका सामन भेटिएकाले सञ्च्ाालकले उत्पादकको मिलोमतोमा खरिद गर्ने गरेको बताए । अस्पतालजस्ता ठाउँमा गम्भीर लापरबाही भएको उनले बताए । ‘क्यान्टिनमा उत्पादकसँगको मिलोमतोमा सामान बिक्री भएको छ । सामानमा लेबल नहुँदा जति पनि बिक्री गर्न मिल्छ,’ उनले भने, ‘यो गम्भीर अपराध हो । यस्ता खाद्यले बिरामी कुरुवालाई थप असर पार्छ ।’ क्याटिन सञ्चालकले ठूलो गल्ती गरेकाले अस्पताल प्रशासनसँग पनि सोधपुर गरेर कारबाही प्रक्रिया अगााडि बढाइने विभागले जनाएको छ ।

‘संवेदनशील क्षेत्रमा ठूलो गल्ती भएको छ । अस्पताल प्रशासनसँग पनि गल्ती छ,’ निर्देशक बेल्बासेले भने, ‘प्रसासनसँग पनि सोधपुछ गर्छौं । त्यही आधारमा कारबाही प्रक्रिया अगाडि बढ्छ ।’ प्रशासनलाई आइतबार पत्र पठाइने विभागले जनाएको छ । ती व्यवसायीलाई क्यान्टिनको कागजातसहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
कान्तिपुरबाट


  •  
  •  
  •