पढाइ नै नहुने विषयमा शिक्षक नियुक्त

72
  •  
  •  
  •  

काठमाडौं ५ भदौ ।
जिल्ला शिक्षा कार्यालय काठमाडौंले माध्यमिक तहमा पढाइ नहुने विषयका लागि शिक्षक नियुक्त गरेको छ। जिल्लाअन्तर्गतका विद्यालयमा रिक्त शिक्षकको कोटा पूर्तिका लागि शिक्षक सेवा आयोगमा सिफारिस गर्दा जिशिकाले माध्यमिक तहमा विषय नभएका शिक्षक कोटा खाली रहेको सूचना उपलब्ध गराएकाले यस्तो भएको हो।

जिशिकाले यसपटक माध्यमिक तहमा ७२ जना नयाँ शिक्षक नियुक्त गरेको छ। तीमध्ये अनिवार्य गणित विषयका लागि सबैभन्दा धेरै २१, अंग्रेजीका लागि ११ र विज्ञानका १० नियुक्त भएका छन्।

त्यस्तै स्वास्थ्य तथा शारीरिकका नौ, लेखाका सात, अनिवार्य नेपालीका ६, अर्थशास्त्रका तीन, सामाजिकका दुई तथा भूगोल, नेपाली व्याकरण र नेपाल भाषाका लागि एकएकजना नयाँ शिक्षक नियुक्त गरिएको जिशिकाले जनाएको छ।

माध्यमिक तहमा पढाइ नै नहुने स्वास्थ्य तथा शारीरिक विषयमा नियुक्त भएर आए पनि ती शिक्षकले तत्कालका लागि सामाजिक र जनसंख्या तथा वातावरण विषय पढाउने गरी पदस्थापन गरिएको छ।

‘अंग्रेजी, गणितलगायतका विषय पढाउन नसक्ने हुनाले यस्तो विषय पढाउन भनिएको हो’, जिल्ला शिक्षा अधिकारी शंकर गौतमले भने, ‘दरबन्दी अभाव भएका विद्यालयमा पठाइएको छ। विद्यालयले आफू अनुकूल हुने गरी पढाउन लगाउँछ।’

आयोगबाट विषयगत रूपमा आवश्यकभन्दा बढी शिक्षक नियुक्ति भएर आएपछि उनीहरूलाई कसरी पदस्थापन गर्ने भन्नेमा अहिले जिशिका समस्यामा छ। जिल्ला शिक्षा अधिकारी गौतमले अघिल्ला जिल्ला शिक्षा अधिकारीको पालामा रिक्त शिक्षकको कोटा आयोगमा पठाइएकोले यसबारे आफूलाई जानकारी नभएको बताए।

‘जिल्लामा म आउनुअघि नै रिक्त कोटासहित पदपूर्ति गर्नुपर्ने शिक्षकको सूची निर्धारण गरिएको थियो। मैले अहिले त शिक्षक सेवा आयोगबाट सिफारिस भएका शिक्षकको पदस्थापना गर्ने मात्र हो’, दुई महिनाअघि काठमाडौंमा जिशिका बनेका गौतमले भने, ‘नियुक्तिपत्र लिएर आएका शिक्षकलाई हटाउन मिलेन। उनीहरुलाई दरबन्दी खाली भएपछि अन्य विद्यालययमा मिलान गर्नुपर्ला।’

शिक्षक छनोटका लागि परीक्षा तथा अन्तर्वार्ता सञ्चालन गर्ने शिक्षक सेवा आयोगले भने जिशिकाबाट माग भएअनुसारको शिक्षक छनोट गर्ने मात्र भएकोले धेरै वा थोरैको विषयमा आफूहरुलाई कुनै सरोकार नहुने बताएको छ। आयोगका सहसचिव खगेन्द्र नेपालले भने, ‘नियुक्तिपत्र पाएका शिक्षकलाई कसरी व्यवस्थापन गर्ने भन्ने काम जिशिकाको हो।’ अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •