एक तिहाई तलब विद्यालयलाई नदिएपछि शिक्षिका अलपत्र

428
  •  
  •  
  •  

Gulmi-Mapरुपन्देही, ४ चैत(ओएनएस)  : जिल्ला शिक्षा कार्यालय गुल्मीले एक विद्यालयमा नियुक्ति दिएर पठाईएकी एक शिक्षिकाले तलबकाे एक तिहाई चन्दा विद्यालयलाई  दिन नचाहेपछि ५ महिनादेखि अलपत्र परेकी छन् ।

गत कार्तिक ११ गते जिल्ला शिक्षा कार्यालय गुल्मीबाट प्रा.वि. राहत करार सेवामा नियुक्ती दिएर वलिथुम नरहरी कंडेल माध्यामिक विद्यालय वलिथुम गुल्मीमा पठाईएकी शिक्षिका यमा ज्ञवाली ५ महिनादेखि अलपत्र भएकी हुन् ।

‘विद्यालय व्यवस्थापन समितिले आफ्नो मान्छेलाई राख्नका लागि शिक्षा सेवा आयोग पास गरेर आएकी मलाई ठाडै शोषण गर्ने प्रस्ताव सारेर हाजीर गर्न मानिएको छैन ’ उनले भनिन्, ‘त्यसविरुद्ध धेरै पटक जिल्ला शिक्षा कार्यालयदेखि जिल्ला प्रशासनमा समेत धाए तर, सुनुवाई भएन । ’

‘म त्यसै विद्यालयकी कार्यरत शिक्षक भएकोले रोज्न पाउने अधिकार प्रयोग गरी जिल्ला शिक्षा कार्यालयबाट नियुक्ती लिएकी हुँ’ उनले थपिन्, ‘मैले पाउने सरकारी तलवबाट विद्यालयले मासिक ६ हजार मागे पछि मैले दिन नचाहेकै हो ।’

विद्यालयका प्रधानध्यापक रुपेन्द्र श्रेष्ठले पनि विद्यालयको आर्थिक श्रोत नभएका कारण शिक्षिका ज्ञवालीको तलवबाट ३३ प्रतिशत अर्थात ६ हजार मासिक दिनु पर्ने सर्त अगाडी सारेको तर, उनले नमाने पछि व्यवस्थापन समितिले हाजिर गराउन नदिएको बताए ।

आफै पनि निजी श्रोतका शिक्षक रहेका प्रधानध्यापक श्रेष्ठले भने, ‘यस विद्यालयलका निजी श्रोताका शिक्षक–शिक्षिकाकलाई तलव खुवाउन समस्या छ । त्यसैले उहाँको सरकारी तलवबाट ३३ प्रतिशत विद्यालयले मागेको हो । ’ उनले थपे, ‘शिक्षिका ज्ञवालीले शिक्षा सेवा आयोगको परिक्षाका घमण्ड देखाएर उक्त रकम दिन मान्नु भएन त्यसैले, उहाँ यहाँको कार्यरत शिक्षक भएर पनि व्यवस्थापन समितिले नमानेर उहाँलाई हाजिर गराउन नमानेको हो । ’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण कडेल शिक्षिका ज्ञवालीलाई आफुले हाजिर गराउन चाहे पनि शिक्षिकहरुले नमानेका कारण राजिनामा दिन तयार भएको बताए । व्यवस्थापन समितिको दादागिरीका कारण जिल्ला शिक्षा कार्यालय समेत निरही भएको छ भनिन्छ नी भन्ने प्रश्नमा अध्यक्ष कडेलले भने, ‘त्यो गलत हो व्यवस्थापन समितिको होईन यहाका शिक्षिकहरुका कारण म अफ्ठ्यारोमा परेको छु । ’

जिल्ला शिक्षा कार्यालयबाट सुनुवाई नभएपछि जिल्ला प्रशासनमा समेत शिक्षिका ज्ञवालीले निवेदन गरेकी थिइन् । जिल्ला शिक्षा अधिकारी भोजराज शर्मा काफ्लेको ठाडो निदेशनमा उनलाई केहि दिन अघि हाजिर गराइएपनि माग फारम नभरी दिदा उनी ५ महिनदेखि तलबविहिन भएर बसेकी छन् । यस सम्वन्धमा जिल्ला शिक्षा अधिकारी काफ्लेसँग सम्पर्क राख्दा उनले अब छिट्टै यो समस्या समधान गर्ने बताए ।

‘सरकारी तलवबाट मासिक ६ हजार त्यस विद्यालयले माग्न पाईन्छ ? भन्ने प्रश्नमा जिल्ला शिक्षा अधिकारी काफ्लेले भने ‘पाईदैन, तर चन्दा दिन चाहेको भए हाम्रो भन्नु केहि छैन ।’

काफ्लेले चन्दाको दवाबमा विद्यालयले हाजिर गराउन नचाहे विद्यालयको दरबन्दी काट्ने समेत चेतावनी दिए । ‘यदि त्यहि दबावमा उनलाई हाजिर गराउन विद्यालयले नचाहेको हो भने त्यो दरवन्दी काटीदिन्छु, ती शिक्षिका पनि जहाँ खटायो त्यहि जान तयार हुनुपर्छ’, काफ्लेले भने ।

विद्यायलमा स्थायी शिक्षक तिन जना हुँदाहुँदै पनि निजी श्रोतका शिक्षकलाई व्यवस्थापन समितिको रुचीमा प्रधानध्यापक बनाईएको अभिभावकहरु बताउँछन् । यता जिल्ला शिक्षा अधिकारी काफ्लेले आफैले नियुक्ती गरेर पठाएकी शिक्षिकालाई हाजिर गराउन अहिले सम्म नसक्नु वा अन्यत्र सरुवा गराउन पहल नगराउनुलाई रमिताका रुपमा स्थानियवासीले लिएका छन् ।


  •  
  •  
  •