सरकार र आन्दोलनरत शिक्षक महासंघबीचको वार्ता निष्कर्ष विहीन, शुक्रबार पुनः वार्ता

124
  •  
  •  
  •  

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच शुक्रबार पुन: वार्ता हुने भएको छ । गृह मन्त्रालयमा बिहीबार भएको वार्ता टुंगोमा नपुगेपछि शुक्रबार बिहान ९ बजे फेरि वार्तामा बस्ने समझदारी गरिएको हो ।

वार्ताको नेतृत्व सरकारका तर्फबाट शिक्षा सचिव सुरेश अधिकारीले गरेका थिए । महासंघ तर्फबाट भने अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदीले वार्तामा नेतृत्व गर्नेछन् ।
सरकारी वार्ता टोलीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशरण महत, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चारमन्त्री रेखा शर्मा र सम्बन्धित मन्त्रालयका सचिवहरु छन् ।

यस्तै महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि छन् ।

विधेयकमा असन्तुष्टि जनाउँदै बुधबारदेखि देशभरका शिक्षकहरु काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् । त्यसको कारण बिहीबार देशभरका २७ हजार सार्वजनिक विद्यालयको पठनपाठन ठप्प भएको छ । बिहीबार बिहान पनि आन्दोलरत पक्ष र गृहमन्त्री श्रेष्ठबीच छलफल भएको थियो ।


  •  
  •  
  •