शिक्षकहरुको रोकिएको जिल्लान्तर सरुवा फुकुवा

1209
  •  
  •  
  •  

काठमाडाैं, २३ वैशाख (ओएनएस) : शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रले स्थायी शिक्षक पदस्थापनाका लागि रोक्का गरेको जिल्लान्तर सरुवा फुकुवा गरेको छ ।

शिक्षक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धाबाट सफल शिक्षकको पदस्थापन हुन थालेपछि विभागले गएको चैत ११ मा सरुवा रोक्न निर्देशन दिएको थियो ।

शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रले आन्तरिकतर्फको पदस्थापन र अवकाशका कारण कतिपय विद्यालयमा शिक्षक व्यवस्थापन गर्न कठिनाइ भएको गुनासो आएपछि आइतबार सबै शिक्षा, विकास तथा समन्वय एकाइलाई पत्राचार गरी शिक्षक सरुवा फुकुवा गरेको जानकारी दिएको छ ।

सरुवा गर्दा आफ्नो जिल्लाभित्र र अन्तर जिल्लाको समान तहको रिक्त पद तथा विषयको दरबन्दीमा कार्यरत शिक्षकलाई सम्बन्धित स्थानीय तहको समन्वयमा प्रचलित ऐन, कानूनअनुसार गर्न सकिने पनि विभागले जनाएको छ ।


  •  
  •  
  •