अब शिक्षकले मासिक रुपमा तलब पाउने

197
  •  
  •  
  •  

काठमाडौं,२१ माघ (ओएनएस) : अब सामुदायिक विद्यालयका शिक्षकले मासिक रुपमा तलब पाउने भएका छन् ।

सामुदायिक विद्यालयका शिक्षकको तलब मासिक रुपमा विद्यालयमा निकासा गर्ने र विद्यालयले मासिक रुपमा शिक्षकलाई दिने व्यवस्था  गर्ने गरी शिक्षा विभागले प्रक्रिया अगाडि बढाएको छ ।

सचिवस्तरीय निर्णय अनुसार शिक्षकलाई मासिक रुपमा तलब उपलब्ध गराउन शिक्षा विभागले आवश्यक आधार तय गरी ५ वटै क्षेत्रीय शिक्षा निर्देशनालय र ७५ वटै जिल्ला शिक्षा कार्यालयलाई ३ बुँदे परिपत्रसहित निर्देशन दिएको छ ।

साउनको सुरुमै विद्यालयबाट माग फारम संकलन गर्न तथा साउनको अन्त्यसम्ममा प्रथम चौमासिक अवधिको शिक्षकको तलब निकासा गर्ने व्यवस्था मिलाउन विभागले जिशिकालाई निर्देशन दिएको छ । साथै, दोस्रो र तेस्रो चौमासिक अवधिको पनि सोहीअनुसार माग फारम प्राप्त गरी चौमासिकको सुरुवातमै तलब निकासाको ब्यवस्था मिलाउन विभागले निर्देशन दिएको छ ।  र, निकासा प्राप्त गरेको रकमबाट विद्यालयले शिक्षकलाई मासिक रुपमा तलब भुक्तानीको ब्यवस्था मिलाउन पनि विभागले भनेको छ ।

सरकारी कोषबाट तलब खाने भएपनि निजामती र जंगी कर्मचारीले महिनै पिच्छे तलब पाउँदा शिक्षकहरु भने चौमासिक तलब बुझ्न बाध्य थिए ।

विभेद अन्त्य गर्न शिक्षकको मासिक तलब भुक्तानीका लागि गत पुस ३ गते शिक्षा मन्त्रालयले औपचारिक निर्णय गरेको थियो ।

 


  •  
  •  
  •