यात्रु बनेर ट्याक्सी चालकमाथि कारबाही

127
  •  
  •  
  •  

काठमाडौं ४ मंसिर ।
यात्रु : भाइ बानेश्वरसम्म जाऔं न।

चालक : बानेश्वरसम्म पाँच सय रुपैयाँ लाग्छ।

यात्रु : मिटरमा जाऔं न हुँदैन?

चालक : मिटरमा गएर तेलको पैसा उठ्दैन, फेरि उताबाट खाली आउनुपर्छ।

यात्रु : हामी अनुगमन टोलीका हौं, जाऔं त बग्गीखाना।

यो संवाद बुधबार अपराह्न नयाँबसपार्कमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका सादा पोसाकका ट्राफिक प्रहरी र बा१ज ५२४० नम्बरका ट्याक्सी चालक श्यामकृष्ण उदासबीच भएको हो। यात्रुबाट धेरे पैसा उठाउन पल्केका ट्याक्सी चालकले मिटरमा जान नमान्ने, मिटर नै बिगार्ने, कलफास्टलगायतका फट्याइँ गर्न थालेको गुनासो आएपछि महाशाखाले सादा पोसाकमा ट्राफिक प्रहरी खटाएर ठग्ने चालकलाई कारबाही गर्न थालेको छ। यही अप्रेसनको फन्दामा परेका हुन् ट्याक्सी चालक उदास पनि।

ट्राफिक प्रहरीले आफैं यात्रु बनेर ठग्ने ट्याक्सी चालकलाई पक्राउ गर्दै कारबाहीका लागि यातायात व्यवस्था कार्यालय तीनकुने पठाउँदै आएका छन्। मंगलबार कुपण्डोलमा यात्रु कुरेर बसेका बा१ज ४६०५ नम्बरका ट्याक्सी चालक राजुकुमार खड्काले ट्राफिक प्रहरीको बुट देखेरै चिने अनि ‘वेइटिङ’ मा बसेको भन्दै जान मानेनन्। साँझ उनै खड्का त्रिवि शिक्षण अस्पतालअगाडि फेला परे। सादा पोसाकका ट्राफिकले त्यहाँबाट थापाथली जान अनुरोध गरे। खड्काले चार सय ५० रुपैयाँ मागे तर मिटरमा जान मानेनन्।

सादा पोसाकका ट्राफिक प्रहरीले यसरी मिटरमा जान नमान्दा ट्राफिकले कारबाही गर्दैन? भनेर प्रश्न गर्दा खड्काले हाँसो गर्दै भने, ‘कुपण्डोलमा एउटा जगल्टे मिटरमा जाऔं भन्दै थियो, खुट्टा हेरेको ड्यामबुट रहेछ, प्रहरी नै होला भनेर मैले वेइटिङमा छु भनेर धन्न जोगिएँ।’ कुपण्डोल पुगेको ट्राफिक प्रहरीको सोही टोली भेष बदलेर त्रिवि शिक्षण अस्पतालअगाडि पुगेको थियो।

‘कुन बुट यही हो’, भनेर ती जवानले देखाएपछि खड्का झसंग भए। खड्कालाई पनि पक्राउ गरी कारबाहीका लागि यातायात कार्यालय तीनकुने पठाइएको छ।

ठगी गर्ने ट्याक्सी चालकमाथि कारबाही गर्न महाशाखाले उपत्यकाभित्र सईको कमान्डमा ६ वटा टोली २४ जना सादा पोसाकमा ट्राफिक प्रहरी खटाउँदै आएको छ। महाशाखाका प्रवक्ता एसपी वसन्तकुमार पन्तका अनुसार टोलीले दैनिक यसरी नै यात्रु बनेर अनुगमन गर्दै मिटरमा जान नमान्ने, मिटर बिगार्ने, कलफास्ट गर्ने चालकलाई पक्राउ गर्ने गरेको छ।

महाशाखाले कात्तिकमा मात्रै ठगी गर्ने चार सय ६७ वटा ट्याक्सी चालकलाई कारबाहीका लागि यातायात कार्यालय पठाएको पन्तले बताए। ‘यात्रुलाई हतार हुन्छ, जति पैसा पनि तिर्न तयार हुन्छन्, ट्राफिक प्रहरीलाई ट्याक्सी नम्बर मात्रै उपलब्ध गराए पनि हामी त्यस्ता चालकलाई नियन्त्रणमा लिएर कारबाही गर्छौं’, प्रवक्ता पन्तले भने।

मिटरमा जान नमान्‍ने ट्याक्सी चालकलाई यातायात कार्यालयले दुई हजार रुपैयाँ जरिबाना लिने गरेको छ भने मिटर बिगार्ने चालकमाथि पाँच हजारसम्म जरिबाना लिँदै आएको छ। अन्नपूर्णपाष्टबाट


  •  
  •  
  •  

Comments are closed.