सात बुँदे मागसहित ट्याक्सी व्यवसायी आन्दोलनमा

94
  •  
  •  
  •  

काठमाडौं, २४ साउन(ओएनएस) : ट्याक्सी व्यवसायीले सात बुँदे माग राख्दै आइतबारबाट ट्याक्सी सञ्चालन ठप्प पारेका छन् । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले भूकम्पपीडितका नाममा नयाँ ट्याक्सी भित्राउन लागेपछि ट्याक्सी ब्यवसायीहरुले आइतबारदेखि ट्याक्सी सञ्चालन ठप्प पार्ने भएको हो ।

स्वस्तिक स्वरोजगार ऋणी ट्याक्सी व्यवसायी संघको नेतृत्वमा चौंथो चरणको आन्दोलन स्वरुप व्यवसायीहरुले राजधानीमा ट्याक्सी सञ्चालन ठप्प पारेका हुन् । आइतबार यातायात व्यवस्था विभागको कार्यालय एकान्तकुनामा सरकारले गरेको नयाँ ट्याक्सी भित्र्याउने निर्णय खारेजको माग गर्दै दबाब तथा धर्ना कार्यक्रममा गरेका थिए ।

व्यवसायीहरुले बिहानैदेखि ट्याक्सी नचल्ने घोषणा गरेको आन्दोलनका संयोजक राम थापाले जानकारी दिए ।

सरकारले भूकम्प पीडितको नाममा नयाँ ट्याक्सी ल्याउने निर्णय गरेर व्यवसायीलाई षड्यन्त्र गरेको आन्दोलन संयोजक थापाले बताए । आन्दोलन संयोजक थापाको अनुसार सरकारले असार ३ गते गरेको निर्णय तत्काल फिर्ता गर्नु पर्ने नभएर नयाँ ट्याक्सीमा पुरानै ट्याक्सीको नम्बर प्लेट राखेमा आन्दोलन स्थगीत हुने छ । असार ३ गते यातायात मन्त्रालयले गरेको नयाँ ट्याक्सी ल्याउने निर्णय बदर गरी सर्वपक्षीय छानविन समिति बनाएर मात्र निर्णय गर्नु पर्ने, सबै प्रकारको गाडीहरु नेपाली जनताको लागि खुल्ला गरिनुको साथै भागवण्डा बन्द गर्नु पर्ने, ८ सय सी.सी कै गाडी भएकाले ८ सय सी.सी कै गाडी पुन दर्ता नगरी सुविधाजनक गाडी दर्ता गर्नु पर्ने, भूकम्प पीडितलाई दिइने गाडीमा भन्सार सहित सबै खाले कर छुट दिनुपर्ने, सटाभर्नामा स्वेच्छिक नम्बरमै नयाँ गाडी दिनु पर्ने, १८५० लागत कट्टा गरिएका गाडीहरूको लागत खारेज गर्नुको साथै सोही रेकर्ड कायम गर्नु पर्ने र आम व्यवसाय तथा मजदूरहरुको संरक्षण गर्ने नीति अख्तियार निर्माण गर्नु पर्ने माग व्यवसायीहरुले राखेका छन् ।

taxi protest1नेपाल राष्ट्रिय यातायात व्यवस्था सर्वोच्च महासंघको महासचिव शम्भु अधिकारीले ओएनएससँग कुरा गर्दै व्यवसायीहरुले आफ्नो न्यायोचित मागहरुलाई वेवास्ता गरेको आरोप लगाए । उनले काठमाडौंमा ट्याक्सी पार्किङ गर्ने ठाउँ नभएको अवस्थामा के संविधान भवनभित्र लगेर पार्किङ गर्ने भनेर प्रश्न गरेका छन् । महासचिव अधिकारीले सरकारले अन्धाधुन्धमा ट्याक्सी भित्र्याउन खोजेको भन्दै आफ्नो न्यायोचित मागहरुलाई समयमै राज्यले सम्बोधन गर्नु पर्नेमा जोड दिए । उनले भूकम्प पीडितको नाममा राहत भन्दै व्यवसायीलाई षड्यन्त्र गर्न नपाउने ठोकुवा गरे ।

कलंकी क्षेत्रको ट्याक्सी व्यवसायी संघको अध्यक्ष सानुपर्व छाने मगरले भने, ‘ देश चलाउन एस एल सी पास नचाहिने मजदुरी गरेर ट्याक्सी चलाउन किन चाहियो एसएलसी पास ।’  मगरले सरकारले यस्ता खालको अनुचित नीति र नियम ल्याउनु भनेको सर्वसाधारण व्यवसायीको हातमुख जोर्ने सीप खोस्नु जतिकै भएको तर्क गरेका छन् । उनले आफूहरू ट्याक्सी चलाउनु एसएलसी पास नगरे पनि देश चलाउने भन्दा सक्षम भएको दावी गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले असार ३ गते पुराना टयाक्सी विस्थापित गर्ने तथा डिलक्ससहितको नयाँ ट्याक्सी दर्ता खुलाउने मन्त्रीस्तरीय निर्णय गरेको थियो ।

यातायात मन्त्रालयको निर्णय अनुसार ‘सुपर डिलक्स’ र ‘डिलक्स’ ट्याक्सी काठमाडौं भित्रिने भएको छ । भौतिक यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले उपत्यकामा हाल चलिरहेका साधारण ट्याक्सीसहित सुपर डिलक्स र डिलक्स ट्याक्सी गुड्ने बताउँदै निर्णय सच्याउन नमिल्ने ओएनएसलाई जानकारी दिए ।

सचिव सिटौलाका अनुसार २० वर्षअघिका एक हजार आठ सय ५० वटा ट्याक्सीलाई नयाँ ट्याक्सीले विस्थापन गर्ने छ ।

भूकम्पपीडितलाई पाँच सयवटा नयाँ टयाक्सी सञ्चालनको अनुमति दिइने पनि सचिवले जानकारी दिए ।


  •  
  •  
  •