ट्याक्सीमा भेट्टाएको पाँचलाख रकम यसरी बुझाए चालकले

157
  •  
  •  
  •  

काठमाडौं, २ कार्तिक  । घट्ना आज विहानको हो । पेसाले टयाक्सी चालक दिनेस केसी दैनिक जसो ट्याक्सी लिए बसुन्धराबाट हात्तिसार हुइकिरहेका थिए । हात्तिसारमा दुईजना यात्रु ओरालेर उनी पुतलिसडक तर्फ मोडिए ।  पुतलीसडकबाट केही अघि बढेपछि उनले अन्य दुई पुरुष यात्रु भेटे । यात्रुलाई लिएर उनी फेरी उनी वानेश्वर तर्फ हुइकिए । यात्रुको गन्तव्य संसद भवनको पश्चिमपट्टिको भागमा रहेछ । यात्रु उत्रिएको समय ठिक १२ बजेको थियो ।

१२ बजेको उनको खाना खाने समय भएको थियो । खाना खानको लागी उनी नियमित घरमै पुग्ने गर्थे । त्यही क्रममा उनी ट्याक्सी लिएर अघि बढे । तर अघिल्तिर ट्राफिक जाम रहेछ । त्यही क्रममा उनी ट्याक्सीको झ्याल मिलाउँदै पछाडी फर्कदै थिए ।

पछाडीको सिटमा पर्स र केही पैसाको बंन्डल देखे । पछाडी पट्टिको सिटमा रहेको पैसाको बण्डलमा पाँच लाख रुपैया रहेछ । टयाक्सीमा यात्रा गरेका व्यक्तिको हुलिया उनलाई खासै पत्तो थिएन । तर पनि कपडाहरु सामान्य किसिमको थियो भन्ने सम्झना छ ।

यति ठूलो रकम कसैले घरखेत बेचेर विदेश जानलाई म्यानपावरमा बुझाउन ल्याएका होलान जस्तो लाग्यो दिनेशलाई । उनले त्यो पैसा सिधै लगेर ट्राफिक महाशाखामा बुझाए । नखुदोबाटोमा घर परिवारका साथ बस्दै आएका २४ बर्षिय दिनेशलाई यत्रो धेरै रकम बोक्ने मानिस सोझा भएको जस्तो लागेको थियो । चाडबाडको समयमा त्यत्रो पैसा उनीहरुले कतै घर परिवारलाई पो पठाएका हुन की जस्तो लागेका थियो ।

तर उनको इमान्दार मनले पैसा आफैसँग राख्ने आँट नै गरेन । उनले ट्राफिक एफएमबाट हराएका सामान बुझाउनु पर्ने सुनेका थिए । त्यसैले उनले भेटिएको रकम ट्राफिक महाशाखामा लगेर बुझाए ।

महासाखामा पुगेको बेला प्रहरी प्रमुख केशव अधिकारीलाई पनि उनले भेटेर घटनाको जानकारी गराए । अधिकारीले तत्कालै धन्यवाद दिए । प्रहरीले सोधखोज गरी पैसावाला पत्ता लगायो । पैसा लिनका लागी महासाखा पुगेका उनीहरुले दिनेशलाई २० हजार इनाम दिएर धन्यवाद दिए ।

कसको थियो पाँच लाख ? 
दिनेशले आफनै टयाक्सीमा भेट्टाएको पैसा काभ्रेका अच्युत गौतमले बोकेर हिडेका थिए । यति एयरलाइन्समा आबद्ध उनले सेन्चुरी बैंकबाट पैसा निकालेर बानेश्वरमा आएका थिए । पाँच लाख रुपैया अच्युतले कर्मचारीलाई तलब वितरणका लागी भनेर बैंकबाट निकालेर दिनेशको टयाक्सी मार्फत बानेश्वर आएक हुन । अच्युतले जम्मा व्यागमा १९ लाख बोकेर आएका थिए । व्यागको चेन खुस्किएर टयाक्सीको सिटमा पाँच लाख खसेको थियो ।

को हुन दिनेश केसी ?
दिनेश केसी नखुदोवाटोमा डेरा लिएर परिवारसँग बस्दै आएका ट्याक्सी व्यावसायी हुन । चार बर्षदेखि यस व्यावसाय लागेका उनले फाइनान्स मार्फत ट्याक्सी किनेर परिवार धान्दै आएका २४ बर्षिया युवा हुन् । पेसाले ड्राइभर दिनेश मदिरा र गुटका सेवन गर्दैनन् । उनी साहाकारी छन् । उनको बुबा गाडीकै किनबेचको कारोबार गरेर व्यावसाय डुबेकाले दुखजिलो जीवन विताइरहेका छन् भने आमा गार्मेन्टमा काम गर्छिन ।

यस अघि पनि उनले धेरै पटक पर्स र मोबाइलहरु टयाक्सीमा भेटाएर ट्राफिकलाई बुझाइसकेका छन् । कतिपयलाई प्रत्यक्ष भेटाएर बुझाएका छन् । उनका कतिपय साथीहरुले यस्तो काम गरेको जिस्काउँछन भने कतिपयले प्रसंसा गर्छन ।

उनले ट्याक्सी मार्फत नै मासिक कम्तिमा ३५ देखी ४० हजार र बढीमा ५० हजारसम्म कमाउँछन् । उनको विचारमा यही व्यावसायमा खटेर गर्न सक्यो भने विदेश जानु पर्दैन भन्ने लाग्छ । दिनेशलाई विदेशी प्रोजेक्टका सवारी साधनमा ड्राइभरका रुपमा जागिर खाने इच्छा छ ।

साभार/इमेजखबर डटकम


  •  
  •  
  •