१० जनाविरुद्ध ३६ करोडको राजश्व छली मुद्दा

1455
  •  
  •  
  •  

काठमाडौैँ, २ असोज (ओएनएस) : राजश्व अनुसन्धान विभागले १० जना फर्म तथा व्यक्तिविरुद्ध राजश्व छलीको अभियोगमा अदालतमा दायर गरेको छ।

विभागले ती व्यक्ति तथा फर्मसँग ३६ करोड २४ लाख रुपैयाँ विगो दावी गर्दै काठमाडौँसहित विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

झुटा तथा नक्कली विलविजक बनाई राजश्व छली गरेको आरोपमा ७ जनाविरुद्ध २२ करोड २६ लाख ९ सय ४५ रुपैयाँ विगो दावी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । उनका अनुसार ती फर्म र व्यक्तिमा काठमाडौँमा रहेका एएस हार्डवेयरका प्रोप्राइटर सरला श्रेष्ठ, अनंगपाल श्रेष्ठ, घनश्याम पोखरेल, किशोरप्रसाद पुडासैनी, चेतना पुडासैनी, उमेशकुमार भट्टराई र शालिकराम गौतम छन् ।

श्रेष्ठसहीत सातै जना विरुद्ध राजश्व चुहावट अभिओगमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार मुद्दा दायर गरिएको विभागले जनाएको छ। उनीहरुले सरला श्रेष्ठको नाममा दर्ता भएको एएस हार्डवेयरबाट कुनै पनि वस्तु खरिद नगरी खरिद विक्रीका झुट्ठा तथा नक्कली विलविजक बनाएर राजश्व छली गर्ने गरेको पाइएको थियो । जसमा अनंगपाल श्रेष्ठ र घनश्याम पोखरेल राजस्व चुहावटको कार्यमा प्रत्यक्ष रुपमा संलग्न भई नक्कली विल खरिद बिक्री गर्ने, नक्कली बिल बिजक तयारी तथा ओसारपसार गरी राजश्व चुहावटमा प्रत्यक्ष संलग्न रहेको पाइएको थियो ।

सरला श्रेष्ठसहीतका तीनै जनालाई २२ करोड २६ लाख असुल उपर गराई विगोको दोब्बर सम्म जरिवाना र ३ वर्षसम्म कैद सजाय माग गर्दै गत २५ भदौमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको राजश्व अनुसन्धान विभागले जानकारी दिएको छ ।

उनीहरु तीनै जनाले राजश्व चुहावट ऐन २०५२को दफा ३ ले निषेध गरेको एवं सोही ऐन अनुसार असुर गरी मूल्य अभिवृद्धि कर ६ करोड ८९ लाख ३० हजार ८ सय ७९ रुपैयाँ र आयकर तर्फ १५ करोड ३६ लाख ७० हजार ६६ रुपैयाँ गरी २२ करोड २६ लाख ९ सय ४५ रुपैयाँ राजश्व छली गरेको विभागको ठहर छ।

त्यस्तै राजश्व छलीमा संलग्न तथा मूख्य कसुरदातालाई सहयोग पु-याएकाले किशोरप्रसाद पुडासैनी, चेतना पुडासैनी, उमेशकुमार भट्टराई र शालिकराम गौतमविरुद्ध मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।

त्यस्तै विभागले काठमाडौं बत्तिसपुतलीमा रहेको रुक्मणी इन्ड्रीज विरुद्ध १२ करोड ४६ लाख रुपैयाँ विगो दावी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। रुक्मणि इन्डस्ट्रिज प्रालिले अन्तः शुल्क इजाजत पत्र नलिई अन्तः शुल्क लाग्ने वस्तुको उत्पादन गरी विक्री वितरण गर्दै आएको थियो।

उक्त इन्डस्ट्रीजले राजश्व छलेको देखिएकाले संचालक एकता जाजौडिया र स्वेता जाजौडिया विरुद्ध १२ करोड ४६ लाख ४० हजार ७ सय ३२ रुपैयाँ विगो सहीत ऐन अनुसार कैद सजाय माग गर्दै विभागले गत २५ भदौमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको जानकारी दिएको छ।

त्यस्तै विभागले कपिल वस्तुको कृष्ण ट्रेडिङ सप्लायर्सका प्रोप्राइटर गोपाल अग्रहरी भनिने मनिष लोहार समेतलाई राजश्व चुहावट अभियोगमा १ करोड ५२ लाख विगो दावी गर्दै कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। उनले सुनिल कुमार गुप्ताको नाममा गोदाम भाडामा लिई भन्सार चोरी पैठारी गरी राजश्व छली गरेको विभागको ठहर छ। उनलाई मुख्य अभियुक्त मानी राजश्व चुहावट ऐनको दफा २३ (१) बमोजिमको विगोको दोब्बरसम्म जरीवाना र ३ वर्ष सम्मको कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ।


  •  
  •  
  •