अवैध सुन तस्करी नयाँ शैलीमा, भरिया र मालिक दुबै प्रहरी फन्दामा

439
  •  
  •  
  •  

काठमाडौं, २५ फागुन (ओएनएस) : प्रहरीले अवैध सुन तस्करीमा निगरानी बढाएपछि सुन तस्कारहरुले सुन तस्करी नयाँ शैलीमा गरिरहेको खुलासा भएको छ। सुन तस्करहरुले वैदेशिक रोजगारका लागि विदेश गएका सोझा युवायुवतीहरुलाई प्रलोभनमा पारेर अवैध सुन ओसारपसारमा प्रयोग गर्ने गरेको खुलास प्रहरीले गरेकाे छ।

विदेशमा युवायुवतीहरु दिनरात परिश्रम गरेर कमाएको पैसा तस्कारहरुले विदेशमै धरौटी राखेर अवैध सुन दिई भरियाको रुपमा पठाउने गरेको खुलासासमेत प्रहरीले गरेको छ।

खाडीमुलुकबाट गहना बनाएर सुनको अवैध तस्करीका लागि उनीहरुको प्रयोग भैरहेको प्रहरी जनाएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाद्धारा खटिएको प्रहरी टोलीले कतारबाट अवैध सुन लिएर नेपाल फर्किएका एक ब्यक्ति र ती ब्यक्तिसँग अन्य दुइ जना सुन लिन आएकाहरुलाई बिहीबार सिनामंगल बसपार्कबाट पक्राउ गरेपछि सुन तस्करीको नयाँ शैलीबारे खुलासा भएको हो।

पक्राउ पर्नेमा विदेशबाट सुन लिएर आएका काठमाण्डौ १९ मरुटोल वस्ने ४४ वर्षीय दिलिप शाही, भरिया भारत विहार मोतिहारी जिल्ला चौडाडानु थाना घर बताउने हाल काठमाडौँ १७ ढल्कु वस्ने १६ वर्षीय मोहम्मद साहिव अन्सारी र सुन मालिक पर्सा विरगंज घर भई हाल ललितपुर वुङमति वस्ने २७ वर्षीय सुनिता खड्गी रहेकी परिसरका प्रवक्ता डिएसपी माेहन थापाले बताए।

प्रहरीले कतारबाट नेपाल फर्किएका शाहीले बोकेर ल्याएको करिब १ सय ५७ ग्राम सुन भरिया अन्सारी मार्फत मालिक  खड्गीसम्म पुग्नु अगावै प्रहरीले बरामद गरेर अनुसन्धान थालेको थियाे।

अनुसन्धानमा सुनिताका श्रीमान कतारमा रहेको र उनले नै नेपाल फर्कने युवायुवतीलाई एउटा सुनको बाला वापत ६ हजार रुपैयाँको प्रलोभनमा अवैध सुनको भरिया बनाउदै आएको खुलेको हो। खड्गी दम्पत्तीले वैदेशिक रोजगारीमा आर्जेको रकम उत्तै धरौटीभन्दै राख्ने र सुन सम्बन्धीत ब्यक्तिको हातमा परेपछि नेपालमा भुक्तानी दिने गरेकी थिइन।

प्रहरीले सुनिताले हालसम्म १४ पटक यसरी भित्रिएको अवैध सुनको कारोबार गरिसकेको जनाएको छ। बरामद सुनको बजार मुल्य ७ लाख ८२ हजार ९ सय ६२ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धानमा घटदै गएको रेमिट्यान्सको एउटा कारण सुन तस्करी समेत देखिएको छ। खाडी देश कतार र दुबईबाट भित्रने रेमिटयान्स सुन तस्करले उतै राख्ने र नेपालमा भुक्तानी दिने गरेकाले नेपाल भित्रने रकममा कमी आएको प्रहरीले जनाएकाे छ।


  •  
  •  
  •