काठमाडौं, १० पुस (ओएनएस) : प्रमुख तीन दल र मधेसी मोर्चाको बैठकले संविधान निर्माण प्रक्रियाको विवाद मिलाउनको लागि एक कार्यदल बनाउने निर्णय गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको बैठकले संविधानको विवादलाई मिलाउनको लागि सहमतिको खाका सहितको प्रतिवदेश बुझाउन उक्त कार्यदललाई जिम्मेवारी दिएको छ । कार्यदललाई २ दिनभित्र प्रतिवदेश बुझाउन भनिएको छ ।
कार्यदलमा नेपाली कांग्रेसका तर्फबाट महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा एमालेबाट उपाध्यक्ष भीम रावल, एकीकृत माओवादीका महासचिव कृष्णबहादुर महरा र मधेसी मोर्चाको तर्फबाट सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण छन् ।
कार्यदलले विवादका विषयमा सहमतिमा विकल्पहरु तय गरी शीर्ष नेताको बैठकमा प्रस्तुत गर्ने एमाले उपाध्यक्ष रावलले जानकारी दिए । रावलका अनुसार कार्यदलले सहमति गर्नको लागि सुझावसहितको प्रतिवेदश बनाउनेछ ।
आगामी माघ ८ मा संविधान जारी गर्नको लागि कार्यदलले के–के र कसरि विवाद बिषयमा टुङ्गो लाउन सकिन्छ भन्ने बारेमा प्रतिवदेन बनाउनेछ । संविधान जारी गर्ने मिति नजिकिदै गर्दा दलहरुबीचमा राज्य पुनर्सरचना, शासकीय स्वरुप, न्याय तथा निर्वाचन प्रणालीमा विवाद हुँदै आएको छ ।