सांसद सरिता गिरीलाई तत्काल पदमुक्त गरी कारबाही गर्न तरुण दलको माग

256
  •  
  •  
  •  

काठमाडौं । नेपाल तरुण दलले हालसालै एक टेलिभिजन अन्तरवार्तामा संघीय सांसद सरिता गिरीले नेपालका भूमिहरु लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको होइन भनेर दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानआकर्षण भएको जनाएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण जनाएका हुन् ।  विज्ञप्तिमा भनिएको छ, ‘अतिक्रमित भूमि नेपालको नक्सामा समावेश गरी निशान छाप सच्याउनका लागि आवश्यक संविधान संशोधन गर्नुपर्ने भएको हुनाले त्यसका लागि नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बसी संविधान संशोधनको पक्षमा मतदान गर्ने संस्थागत निर्णय गरेको यहाँहरु सम्पूर्णमा सर्वबिदितै छ । यसरी संविधान संशोधन प्रक्रिया चलिरहेको अवस्थामा निज सांसदले उक्त भूमि नेपालको नभएको भनी सार्वजनिक रुपमा टेलिभिजन मार्फत अन्तरवार्ता दिनु मुलुकको स्वतन्त्रता, राष्ट्रिय अखण्डता, स्वाभिमान, राष्ट्रिय एकता विरुद्धको अभिव्यक्ति भएको नेपाल तरुण दलको ठहर छ । ईतिहास देखि पुर्खाहरुले बचाएको एक ईन्च भूमि पनि अतिक्रमण भएमा नेपाल तरुण दललाई मान्य नहुने जानकारी दिँदै राष्ट्रियताको सवालमा नेपाल तरुण दलले कसैसंग पनि सम्झौता नगर्ने स्पष्ट गर्न चाहन्छ ।’

तरुण दलले सांसद सरिता गिरीले संसदमा नेपालको राष्ट्रिय गौरवको रुपमा रहेको नेपाली सेनाको विषयमा विवादास्पद अभिव्यक्ति दिएको तर्फ समेत ध्यानाकर्षण भएको जनाएको छ । तरुण दलले यस्ता अभिव्यक्ति सच्याउन जोड्दार माग गरहेको छ ।

साथै केपी ओली नेतृत्वको नेकपाको सरकार, सभामुख तथा सम्बन्धित संस्थाहरु राष्ट्रियताको विषयमा झण्डै तीन करोड नेपाली जनतालाई चोट पर्ने गरी बोलेकोमा संसद पदबाट निलम्बन गर्ने देखि हदै सम्मको कारबाही गर्ने प्रक्रिया थाल्नुको सट्टा मौन बस्नु नेपाल तरुण दललाई असहिए भएको जनाएको छ ।

सांसद गिरीलाई तत्काल पदमुक्त गरी कारबाही गर्न माग गर्दै यस्ता अराष्ट्रिय तत्वहरुलाई कारबाहीको लागि जोड्दार माग गरेको छ ।


  •  
  •  
  •