काठमाडौं, २१ वैशाख (ओएनएस) : मलेसियामा जारी एसीसी प्रिमियर लिग अन्र्तगत आफ्नो तेस्रो खेलमा नेपालले ओमानलाई जितको लागि १ सय ५८ रनको फितलो चुनौती दिएको छ ।
क्वालालम्पुरको सेलेङ्गर टर्फ क्लबमा टस जितेर ओमानले फिल्डिङ रोजेपछि सुरुमा व्याटिङ गरेको नेपालले ४५ ओभरमा अल आउट हुँदै १ सय ५७ रन मात्र बनाउन सक्यो ।
सुरुका दुवै खेलमा जित हात पारेर उत्कृष्ट लय समातेको नेपालले आफूभन्दा कमजोर प्रतिद्वन्द्वी ओमानविरुद्ध दरिलो पारी खेल्न सकेन । खराब शुरुवात गरेको नेपालका ओपनर सुवास खकुरेल खाता नै खोल्न सकेनन् ।
ज्ञानेन्द्र मल्लले ६ चौकासहित २६ रन मात्र जोडे । कप्तान पारस खड्का ६ रनमा आउट हुँदा धरासायी बनेको नेपाली व्याटिङक्रम मेहबुब आलमले पनि सम्हाल्न सकेनन् ।
उनी ५ रन बनाउँदा आउट भए । नेपालका चारजना ब्याट्सम्यान दोहोरो अंकै नजोडि आउट भए । ‘उत्कृष्ट फिनिसर’को रुपमा चिनिएका शरद भेसवाकर लामो सयम क्रिजमा रहेपनि राम्रो स्ट्राइक रेट बनेन । सुस्त गतिमा रन बनाएका उनले ६१ बल खेल्दै १६ रनमात्र जोडे ।
बिनोद भण्डारी १०, बसन्त रेग्मी ६ र शक्ति गौचन १५ रन जोडेपछि क्याच आउट भए । अन्तिममा सागर पुनले २० रन जोडे भने सोमपाल कामीले ११ रन जोड्दै नटआउट रहे ।
नेपाललाई सस्तैमा समेट्न ओमानका लागि अमीर कलिमले ३६ रन खर्चिँदै ४ विकेट लिए । त्यसैगरी एजे ललचेतर जेसन मक्सुदले २÷२ विकेट लिए । राजेशकुमार र अमिर अलिले १÷१ विकेट लिए ।
एक दिवसीय क्रिकेटमा ओमानसँग भएका यसअघिका दुईवटा खेलमा नेपालले जित हात पारेको थियो ।