फिजियो थेरापी सेन्टर सञ्चालन

452
  •  
  •  
  •  

काठमाडौं । ललितपुर महानगरपालिका–९ स्थित बालकुमारीमा नेपाल फिजियो थेरापी एण्ड रिह्याविलेशन सेन्टर सञ्चालनमा आएको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उक्त सेन्टरको शुभारम्भ गर्दै थेरापी सेवालाई गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ बनाउन आग्रह गरे ।

उनले स्वास्थ्य क्षेत्रमा प्राकृतिक, आयुर्वेद तथा भौतिक चिकित्साशास्त्रको महत्व रहेको उल्लेख गर्दै महानगरपालिकाले यस क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा नेपाल फिजियो थेरापी संघका अध्यक्ष लक्ष्मण अधिकारीले सरकारी अस्पतालमा समेत फिजियो थेरापीको प्रयोग बढ्न थालेको भन्दै यस पद्धतिको विस्तार हुन थालेको बताए । उनले सेन्टरले विपन्न नागरिकलाई समेत सेवा दिन सुझाव दिए ।

सेन्टरका अध्यक्ष सहदेव व्यञ्जनकारले थेरापीमा कुनै दीर्घकालीन असर नहुने हुँदा यसको क्षेत्र फराकिलो बन्दै गएको बताए ।

सेन्टरका डा.तेञ्जीङ नोर्वु लामाले उक्त संस्थामा थेरापी सम्बन्धी दक्षजनशक्ति उत्पादन गर्ने, थेरापी सम्बन्धी उच्च अध्ययन र थप अनुसन्धानलाई अगाडि बढाउने बताए ।

सेन्टरमा मेरुदण्ड भाँचिएका, गर्धन तथा कम्मरको नशा च्यापिएको, पक्षघात, मस्तिष्क पक्षघात, पार्किन्सन रोग, बाथ रोगको विशेष उपचार शनिबारदेखि शुरु गरिएको छ ।

विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परामर्श, दुःखाई निर्मूल उपचार, हाडजोर्नी, नशा, मनोरोग, मधुमेह, थाइराइड, स्नायु, नाक, कान घाँटीलगायतको उपचार गरिने जनाइएको छ ।

यस्तै सेन्टरमा म्यानुअल थेरापी, न्यरो, हाडजोर्नी, स्पोटस तथा बालबच्चा सम्बन्धी, स्त्री रोग सम्बन्धी उपचार समेत गरिनेछ ।

करीब एक करोड २० लाखको लागतमा निर्माण भएको उक्त सेन्टरमा जेष्ठ नागरिक एवं एकल महिलाका लागि ३० प्रतिशत छुुटको व्यवस्था गरिएको छ भने एकमहिनासम्म सबैका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।


  •  
  •  
  •