मधेसलाई ५० प्रतिशत प्रदेश माग

127
  •  
  •  
  •  

काठमाडौं २४ कत्तिक ।
तराईबाट प्रतिनिधित्व गर्ने कांग्रेसका २२ जना सभासद्ले आइतबार प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइरालालगायतका नेतालाई भेटी संघीयतामा जाँदा मधेसलाई ५० प्रतिशत प्रदेश चाहिने भन्दै सात प्रदेश बनाउने भए तीनवटा प्रदेश मधेसमा हुनुपर्ने माग गरेका छन्।

ती सभासद्ले पार्टी महासमिति बैठकले पहाडमा चार र मधेसमा तीन प्रदेश हुने निर्णय गरेको स्मरण गराउँदै त्यसविपरीत कांग्रेस, एमालेलगायतबाट संयुक्त अवधारणा आएको भन्दै आपत्ति जनाए। उक्त अवधारणामा सातमध्ये मधेसमा दुई प्रदेश हुने उल्लेख छ।

कांग्रेस केन्द्रीय सदस्य एवं सभासद् फरमुल्ला मन्सुरले सात प्रदेशमा गए मधेसमा तीन, आठ प्रदेशमा गए मधेसमा चार र १० प्रदेशमा गए मधेसमा पाँच हुनुपर्ने माग आफूहरूले राखेको बताए। उनका अनुसार भेटमा कोइरालाले एमालेसहितका दलहरूको समर्थन लिनका लागि सात प्रदेशको यो खाकामा आफूले समर्थन गरेको बताएका थिए।

यी सभासद्ले वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्णप्रसाद सिटौलालगायतका नेतासँग पनि भेट गरी सोही माग राखेका थिए। यसरी भेट गर्ने सभासद्मा महेन्द्र यादव, चन्द्रमोहन यादव, केशवकुमार बुढाथोकी, लक्ष्मी ठाकुर, मीनाक्षी झा, प्यारेलाल राना, अमरेशकुमार सिंहलगायत थिए। अन्नपूर्णबाट


  •  
  •  
  •