पाँच महिनापछि मत्थर हुँदै मध्य तराई

79
  •  
  •  
  •  

काठमाडौं १८ पुस ।
तराई मधेसमा झण्डै पाँच मिहनादेखी जारी आन्दोलन विस्तारै मत्थर हुँदैछ। अस्तव्यत बनेको जनजीवन सामान्य बन्दै गएको छ। मलंगवादेखी वीरगन्जलगायत मध्य तराईका जिल्लाहरुको सदरमुकाम र ग्रामीण भेगमा शान्तिपूर्ण माहौल बन्दैछ। सर्वसाधारणको अान्दोलन रोकिएर शान्तिपूर्ण दैनिकी बिताउने चाहना र अाशा बढेको छ।
सवारी साधन चल्ने क्रम बढ्दो छ। तर सार्वजनिक यातायात र ढुवानीका ठूला सवारी साधन भने अझै संचालनमा आएका छैनन्। यातायात बाहेक अन्य क्षेत्रमा आन्दोलनको असर कम हुँदै गएको छ। केही दिनदेखि सीमा नाकाहरुमा धर्नाकारी जुट्न छाडेपछि बजारमा सामानको आयात पनि बढेको छ।

नेपाल–भारत सीमा क्षेत्रको वीरगन्ज–रक्सौलको मुख्य नाकामा धर्ना बस्नु बाहेकका ठूला विरोधका कार्यक्रम चलेका छैनन्। बन्दहड्ताल केन्द्रित अन्य कुनै कार्यक्रम नहुँदा जनजीवन समान्य बन्दै गएको हो।

सामानको मूल्यमा देखिएको अनियन्त्रित बढोत्तरी पनि विस्तारै कम हुँदैछ। आन्दोलनकारीहरुले पछिल्ला दिनहरुमा आन्दोलनलाई खुकुलो बनाएका कारण बजार सवारी साधन सञ्चालनमा आएका छन्। बुधबार केहीबेर अशान्त बनेको बीरगन्ज बजार अहिले पूर्ण रुपमा खुल्ला रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख राजुबाबु श्रेष्ठले बताए। ‘वीरगन्जमा आन्दोलनको असर बिस्तारै कम भएको छ, बजार पसलहरु पूर्ण रुपमा खुल्ला छ।’ श्रेष्ठले भने ‘नाकामा केही आन्दोलनकारीहरु धर्ना बसेपनि सहरमा आन्दोलनको प्रभाव छैन। जनजीवन सामान्य बन्दै गएको छ।’

नयाँ संविधान र सीमांकनको विरोधमा मधेसी दलहरुले गत साउन ३० गतेदेखि अनिश्चितकालिन बन्द हड्ताल गरेका हुन्।

मधेसी मोर्चाका केन्द्रिय नेताहरुको बाहुल्य जिल्ला सर्लाहीमा आन्दोलनको प्रभाव खासै देखिएको छैन। सर्लाहीको सदरमुकाम मलंगवा पूर्ण खुल्ला छ। बजार, पसलहरु पूर्ण रुपमा खुलेका छन्। तराई मधेस लोकतन्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सदभावना अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सदभावनका अध्यक्ष महेन्द्र यादवको गृह जिल्ला सर्लाहीमा आन्दोलनको प्रभाव छैन। संघीय समाजवादी फोरम नेपालका सर्लाही अध्यक्ष अशोक यादवलाई जिल्ला प्रशासन कार्यालयमा तोडफोड गरेको आरोपमा पक्राउ गरेपछि तनाव भएको थियो। यादव धरौटी राखेर जिल्ला अदालत सर्लाहीबाट तारिखमा छुटेपछि स्थानीय बजार पुनः सञ्चालनमा आएका छन्।

बारको सदरमुकाम कलैयामा पनि आन्दोलनको प्रभाव छैन। बजार पसल खुलेका छन्। जिल्लाको सिम्रौनगढ, कर्चोर्बा, बरियारपुर, कबही, गन्जभानीपुर, जितपुर, सिमरा लगायतका बजारहरु खुलेका छन्। सिमराबाट मुलुकका विभिन्न भागमा लामो तथा छोटो दुरीका सवारी निर्वाध सञ्चालनमा आएका छन्।

यस्तै रौतहटको सदरमुकाम गौर बजार पूर्ण खुलेको छ। मधेसी मोर्चाको अन्तिम चरणको आनदोलन पुस १५ गतेको लाठी जुलुशसँगै सकिएपछि बजार पूर्ण रुपमा खुलेको रौतहटका प्रमुख जिल्ला अधिकारी नरहरी बरालले बताए।

नाका अवरुद्ध पारेर धर्ना बसेका आन्दोलनकारीहरु माथि भारतीय तस्कर तथा व्यापारीले समेत पटक पटक अक्रमण गर्न थालेकोले धर्नामा संख्या बढाउने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष प्रदीप यादवले बताए। ‘मधेस आन्दोलन उत्कर्षमा पुगेकोबेला सरकार तथा केही अपराधी चरित्रका व्यक्तिहरुले आन्दोलन तुहाउने षडयन्त्र गरिरहेका छन्,’ यादवले भने ‘त्यस्ता तत्वहरु मोर्चाको आन्दोलनलाई बदनाम गर्न विभिन्न चलखेल गरिरहेको छन्, हामी माग पूरा नभएसम्म विभिन्न स्वरूपमा अान्दोलन जारी राख्छाैं।’
नागरिकबाट


  •  
  •  
  •