तारा गाउँ प्रकरणको छानबिनका क्रममा दबाब आयोे : संयोजक सापकोटा

562
  •  
  •  
  •  

काठमाडौं, २७ चैत(ओएनएस) : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गत उपसमितिका संयोजक अग्निप्रसाद सापकोटाले तारागाउँ रिजेन्सी होटल्स छानबिनको क्रममा ठूलो दबाब आएको बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा बोल्दै नेता सापकोटाले भने,‘तारागाउँ रिजेन्सी होटल्सलाई हक हस्तान्तरण गरी दिएको एक सय ५० रोपनी जग्गा सरकारको स्वामित्वमा ल्याउन निर्देशन दिएका छौं । हामीले सरकार र अख्तियारलाई सहयोग पुग्नेगरि नै प्रतिवेदन ल्याएका छौं ।’

नेता सापकोटाले यो प्रकरणको उजागरणसँगै मुलकमा बहु–आयामिक भ्रष्टाचारको रहस्योद्धघाट्न भएको बताए ।
प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवासकै जग्गा व्यक्तिको नाममा दर्ता भएको कुरा बाहिर आएको सुनाउँदै यो लज्जाको विषय भएको उनको टिप्पणी छ । उनले भने,‘भू–माफिया र जग्गा दलालहरु सलबलाए, यो त दुःखको कुरा हो । मुलुकमा अहिले भ्रष्टाचारको सिकञ्जामा परेको छ।’

उनले आफूहरुले तारागाउँ होटेलकै सवालमा पनि सत्यको अन्वेषण गरेको सुनाए । सापकोटाले छानबिनको लागि आफूहरुले पटक–पटक गरि १४ वटा बैठक गरेको पनि सुनाए । उनले छानबिनको क्रममा सम्बन्धित सरकारी निकायबाट नै सहयोग नपाएको गुनासो पोखे ।

उनले लिज सम्झौतापनि गैरकानूनी ढंगले गरेको पाएपछि त्यो रद्द गर्न आफूहरुले निर्देशन दिईसकेको स्पष्ट पारे ।
आफूहरुले १४ बुँदे निर्देशन दिएको पनि उनले सुनाए । तीमध्ये ८ वटा बुँदामा अख्तियार दुरुपयोग अनुशन्धान आयोगलाई दिएको उनले स्पष्ट पारे । उनले भने,‘हामीले पर्यटन मन्त्रालयले के गर्ने ? भूमि सुधार मन्त्रालयले के गर्ने र अर्थ मन्त्रायलयले के गर्ने भन्नेबारे क्याटेगोरी नै छुट्टाएर निर्देशन दिएका छौं ।’

छानबिनको क्रममा आवश्यक कागजपत्र माग्दा अर्थमन्त्रालयले यो धेरै वर्ष पूरानो कुरा हो र यसको अभिलेख भेटिएन भनेर जवाफ दिएको भन्दै उनले गुनासो पोखे ।

भू–माफियाहरुले मालपोत कार्यालयका अधिकारी, कम्पनी रजिष्ट्रारका पदाधिकारी, सरकारी प्रतिनिधिहरुलाई प्रभावमा पारेर सरकारी सम्पत्ति हडप्नेगरि ठूला–ठूला निर्णय गर्न सफल भएको भन्दै उनले त्यसतर्फ राज्यको विशेष ध्यान जान जरुरी रहेको सुनाए । उनले आफूहरुले प्रतिवेदनमात्रै नबुझाएर समाधानको उपायपनि सुझाएको स्पष्ट पारे ।


  •  
  •  
  •