काठमाडौं, २४ जेठ (ओएनएस) नेपाल प्रहरीकी तारादेवी पुन र नेपाली सेनाका कमलबहादुर अधिकारीले आसन्न १७ औं एसियाली खेलकुदका लागि भइरहेको भारोत्तोलन खेलाडी छनोट प्रतियोगितामा शुक्रबार राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । महिलाको ७५ केजीमाथि तारा र पुरुषको ६९ केजीमा कमलले समान ३–३ राष्ट्रिय कीर्तिमान स्थापित गरे ।
ताराले स्न्याचमा ७० केजी र क्लिन एन्ड जर्कमा ९३ केजी गरी कुल १ सय ६३ केजी भार उचाल्दै तीनैमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरिन् । ताराकै नाममा स्न्याचमा ६७, क्लिन एन्ड जर्कमा ९२ र कुलमा १ सय ५९ को कीर्तिमान थियो ।
दक्षिण एसियाली खेलकुदको भारोत्तोलनमा स्वर्ण जित्ने एक मात्र खेलाडी कमलले आफ्नै कीर्तिमान सुधार गर्ने क्रममा स्न्याचमा १ सय १७ र क्लिन एन्ड जर्कमा १ सय ५७ गरी कुल २ सय ७४ केजी भार वहन गरे । कमलको नाममा स्न्याचमा १ सय १६, क्लिन एन्ड जर्कमा १ सय ५६ र कुलमा २ सय ७२ को कीर्तिमान थियो । त्यस्तै सेनाकै दिनेश श्रेष्ठले पनि पुरुषको ९४ केजीतर्फ स्न्याचमा कीर्तिमान बनाएका छन् । उनले स्न्याचमा १ सय १२ केजी वजन उचाल्दै आफ्नै नाममा रहेको १ सय ११ केजीको कीर्तिमानमा सुधार गरे । उनले क्लिन एन्ड जर्कमा १ सय ३५ सहित कुल २ सय ४७ केजी भार उचाले ।
तीनै खेलाडीले अघिल्लो कीर्तिमान प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत भएको राष्ट्रिय भारोत्तोलनमा बनाएका थिए । नेपाल भारोत्तोलन संघद्वारा आयोजित छनोटको महिला ५८ केजीमा प्रहरीकी उत्तम खत्री पहिलो भइन् । उत्तमले स्न्याचमा ६३ र क्लिन एन्ड जर्कमा ७५ गरी जम्मा १ सय ३८ केजी भार उचालिन् । ६३ केजीमा सप्तरीकी शान्ति चौधरी तीनैपटक निर्धारित वजन उचाल्न नसक्दा ‘वास आउट’ भइन् ।
पुरुष ५६ केजीको स्न्याचमा बाँकेका प्रकाश केसीले स्न्याचमा ८५ र क्लिन एन्ड जर्कमा १ सय ७ गरी कुल १ सय ९२ केजी वजन उचाल्दै पहिलो भए । ६२ केजीमा प्रहरीका विकास थापाले स्न्याचमा १ सय ८ र क्लिन जर्कमा १ सय २४ गरी जम्मा २ सय ३२ केजी उचाल्दै शीर्ष स्थानमा रहे । ८५ केजीमा सेनाका भैरवसिंह थापा पहिलो भए । उनले स्न्याचमा ९५ र क्लिन एन्ड जर्कमा १ सय २५ सहित कुल २ सय २० केजी भार वहन गरे । पुरुषको १०५ केजीमा पहिलो भएका सेनाका गगनसिंह ओलीले स्न्याचमा १ सय र क्लिन एन्ड जर्कमा १ सय ३२ गरी कुल २ सय ३२ केजी भार उचाले । १०५ केजीमा रामेछापका गोपालबहादुर श्रेष्ठले स्न्याचमा १ सय १५ र क्लिन एन्ड जर्कमा १ सय ५४ सहित कुल २ सय ६९ केजी उचाल्दै शीर्ष स्थानमा रहे ।
भारोत्तोलन संघका उपाध्यक्ष सुरेन्द्रबहादुर हमालको संयोजकत्वमा गठित पाँच सदस्यीय छनोट समितिको आइतबार बस्ने बैठकले इन्चोन एसियाडमा सहभागी हुने खेलाडीको अन्तिम टुंगो लगाउने भारोत्तोलन संघले जनाएको छ ।