पोखरा, १३ फागुन(ओएनएस) : पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनामा परी मृत्यु हुनेहरूको शव आज बिहीबार पोखरा ल्याइने भएको छ ।
जोमसोम जाने क्रममा म्याग्दीको दाना-२ सोलि घोप्टेभिरमा दुर्घटनाग्रस्त तारा एयरको विमानमा सवार मृतकको शव संकलनको काम बिहानैबाट सुरु गरिएको छ । सबै शव संकलन गरिएपछि शवलाई पोखरा ल्याइने छ ।
बुधबार बिहान ८ बजे दुर्घटना भएको दुर्घटनास्थलमा दिउँसो २ बजे पुगेका सुरक्षाकर्मीले साँझसम्म १९ वटा शव संकलन गरेका थिए । बाँकी शवका टुक्राटुक्री जम्मा गर्ने काम बिहानबाट सुरु भएको क्षेत्रीय प्रशासक शंकर कोइरालाले जानकारी दिएका छन् ।
घटनास्थलमा पुगेका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली राति त्यहीं बास बसेर बिहानबाट पुन बाँकी शवको खोजी सुरू गरेका छन् । एक जना नाबालक र महिलाको शव पहिचान गर्न सक्ने अवस्थामा भएपनि अन्यको शव क्षतविक्षत अवस्थामा भेटिएको छ । केहिको शव आगोले जलेको अवस्थामा छ । यत्रतत्र छरिएको अवस्थामा रहेकाले शबको टुक्राहरु जम्मा गर्न समय लागेको त्यहाँ पुगेका सुरक्षाकर्मीहरुले जानकारी गराएका छन् ।
घटनास्थलमा संकलन गरिएको शव हेलिकप्टर अवतरण हुने स्थानसम्म ल्याएर त्यहाँबाट पोखरा ल्याउने गरी तयारी भैरहेको छ । आज शव पोखरा ल्याएर आफन्तको जिम्मा लगाउने प्रशासनको तयारी छ भने पहिचान नभएका शव डिएनए परिक्षणको लागि काठमाडौं पठाईनेछ ।
जहाज दुर्घटनामा चालक दलका तीन, दुई नावालक, दुई विदेशीसहित २३ जनाको मृत्यु भएको हो । हिजो बिहान ७ बजेर ५० मिनेटमा पोखरा विमानस्थलबाट उडेको तारा एअरको विमान ८ बजे सम्पर्कबिहिन भएको थियो । दिउँसो २ बजे मात्रै स्थानीयबासी र सुरक्षाकर्मीको सक्रियतामा दुर्घटना भएको ठाउँ पत्ता लागेको थियो । यसैबीच विमान दुर्घटनाको छानबिन गर्न सरकारले हिजै छानबिन आयोग गठन गरिसकेको छ ।