आज गुरुङ समुदायको पर्व तमु ल्होसार

1353
  •  
  •  
  •  

gurungकाठमाडौँ, १५ पुस(ओएनएस) : आज तमु ल्होसार पर्व, विभिन्‍न कार्यक्रम गरि गुरूङ समुदायका मानिसहरूले हर्सोल्लासकासाथ मनाउँदैछन् । हरेक वर्ष पुस १५ को दिन ल्हो अर्थात् वर्ष फेरिने भएकाले यो दिनलाई ल्होछार पर्वको रूपमा मनाइने गरिएको हो ।

आजको दिन आफ्ना मान्यजन तथा आफन्तहरुबाट शुभकामना तथा आशिर्वाद आदानप्रदान गर्ने चलन गुरुङ समुदायमा रहेको छ । प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र यी १२ वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेलका प्रतीकका रुपमा लिइन्छ ।

ल्होसारको अवसरमा काठमाडौँको टुडिखेलमा विशेष मध्यान्ह विशेष कार्यक्रम पनि हुँदैछ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च तहका व्यक्तिहरु पनि सहभागी हुने भएका छन् । सरकारले तमु ल्होसारको दिन आज सार्वजनिक बिदा समेत दिएको छ ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले ‘तमु ल्होछार पर्व २०७२’ का अवसरमा आज एक शुभकामना सन्देश दिँदै मौलिक धर्म, संस्कृति, कला, रीतिरिवाज, चाडपर्व, जात्रा, दिवस, सांस्कृतिक सम्पदाजस्ता साझा पहिचानले विश्‍वसामु नेपालको छुट्टै चिनारी गराएको बताएकी छन् ।

उनले नेपाल धार्मिक सांस्कृतिकरुपमा सम्पन्‍न र समृद्ध मुलुक भएको र यहाँको विविध जातजाति र तिनका तिनको यथोचित संरक्षण, संवद्र्धन, प्रवद्र्धन, विकास तथा प्रचार–प्रसार गरी विविधतामा एकता कायम गर्दै राष्ट्रिय एकता, अखण्डता, आपसी सद्‍भाव तथा धार्मिक सहिष्णुता कायम गर्ने साझा कर्तव्य हो भनेकी छन् । सन्देशमा सिङ्गो नेपाली संस्कृतिभित्र रहेको तमु गुरुङ संस्कृति आफैँमा मौलिक, समृद्ध र पृथक रहेको पनि उल्लेख गरिएको छ ।

यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि गुरुङ समुदायले मनाउने ल्होच्छारको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् । उपराष्ट्रपतिको स्वकीय सचिवालयले जारी गरेको विज्ञप्तिमा पुनले तमु ल्होच्छारको खुसियालीपूर्न अवसरमा देशविदेशमा बस्नु हुने गुरुङ जातिलगायत सम्पूर्ण देशप्रेमी नेपाली दाजुभाइ, दिदीबहिनीमा सुस्वास्थ्य, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरिएको उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारको अवसरमा शुभकामना दिँदै सबै नेपालीमा हार्दिकता, आपसी मेलमिलाप र धार्मिक तथा जातीय सहिष्णुता कायम राखी मुलुकको समृद्धिमा अग्रसर हुन आह्वान गरेका छन् । शुभकामनामा प्रधानमन्त्री ओलीले वर्षलाई १२ वटा जीवजन्तुको प्रतीकका रुपमा लिइने चलनअनुसार मनाइन लागेको यो पर्वको आफ्नो छुट्टै मौलिक परम्परा रहेको बताएका हुन् ।


  •  
  •  
  •