युनेस्कोको खतरा सूचीमा उपत्यकाका सम्पदा!

254
  •  
  •  
  •  

काठमाडौं १३ असार ।
भूकम्पपछि क्षतविक्षत काठमाडौं उपत्यकाका विश्व सम्पदा क्षेत्रलाई युनेस्कोले खतरा सूचीमा राख्ने तयारी गरेको छ। जर्मनीको बोनमा आइतबार सुरु हुने युनेस्को विश्व सम्पदा समितिको ३९ औं सम्मेलनमा यसबारे प्रस्ताव पेस हुँदैछ। युनेस्कोले ठूलो क्षतिलाई ध्यानमा राख्दै विश्व सम्पदा परिचालन निर्देशिकाको दफा १७७, १७८ र १७९ अनुसार यस्तो प्रस्ताव बैठकमा पेस गर्न लागेको जनाएको छ।

विश्व सम्पदा परिचालन निर्देशिकाअनुसार संस्कृतिक पुरातात्विक सामान, संरचना तथा गरगहना, वास्तुकला, सहर वा गाउँ वा कुनै प्राकृतिक पर्यावरणमा क्षति भए, ऐतिहासिक प्रमाण नष्ट भए र सांस्कृतिक महत्वको नोक्सान भए खतराको सूचीमा राख्नुपर्ने अवस्था आउँछ।
समितिले विश्व सम्पदा केन्द्र र सल्लाहकार निकायसँग गहन परामर्श लिएर काठमाडौं उपत्यकालाई खतराको सूचीबाट हटाउन आपतकालीन योजनाको विकास र कार्यान्वयन गर्न नेपाललाई अनुरोध गरेको छ।

राजधानीको बसन्तपुर क्षेत्रमा शनिबार घुम्न आएका विदेशी पर्यटक। तस्बिर : दिपेश श्रेष्ठ

‘क्षति भएका सम्पदाको सुधारात्मक उपाय खोजी र संरक्षण गर्ने इच्छा देखाएर क्षेत्रलाई जतिसक्दो चाँडो खतराको सूचीबाट हटाउन समिति अनुरोध गर्छ,’ सम्मेलनमा प्रस्ताव गरिन लागिएको मस्यौदा निर्णयमा भनिएको छ, ‘सम्बन्धित निकायलाई विदेशी समुदायमार्फत विपतपछि सम्पदाको सुरक्षा, संरक्षण र पुनर्निर्माण गर्न सहयोगको अनुरोध गर्छ।’
युनेस्कोलेसन् २०१६ फेब्रुवरी १ सम्म विश्व सम्पदाको अवस्था सुधार गर्नुपर्ने चेतावनी दिँदै पूरा गरे/नगरेको रिपोर्ट पेसका लागि नेपाललाई अनुरोध गर्ने निर्णयको मस्यौदामा उल्लेख छ।
युनेस्कोका सल्लाहकार समिति इन्टरनेसनल काउन्सिल अन मनोमेन्ट एन्ड साइट्स (इकोमस) र इन्टरनेसनल सेन्टर फर द स्टडी अफ प्रिजरभेसन एन्ड रेस्टोरेसन अफ कल्चरल प्रोपर्टी (इकरोम) ले विपतपछि अध्ययन गरेर उपत्यकाका सम्पदा क्षेत्रलाई खतराको सूचीमा राख्ने निचोड निकालेका थिए।

सम्मेलनमा भाग लिन जर्मनी पुगेका पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले नागरिकसँग छोटो अनलाइन कुरा गर्दै खतराको सूचीमा राख्ने विषयमा अन्तिम निर्णय भइनसकेको बताए। ‘युनेस्कोले मस्यौदा निर्णयमा काठमाडौंका सातै स्मारकलाई खतराको सूचीमा राख्ने प्रस्ताव गरेको छ,’ उनले भने, ‘तर, हामी यस्तो हुन नदिने कोसिस गरिरहेका छौं।’
उनका अनुसार सम्मेलनमा नेपाली प्रतिनिधिसँग युनेस्को विश्व सम्पदा समितिले क्षतिपछिको अवस्थाबारे सोध्नेछ। ‘समितिमा आज दर्ताको काम सकियो। हाम्रो सम्पदालाई उनीहरूले कहिले समय दिन्छन्,’ उनले भने, ‘पालो आएपछि हामी खतरा सूचीमा नराख्न अनुरोध गछौं। हामीले आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछौं।’ सम्मेलन ८ जुलाईसम्म हँुदैछ।
विभागका एक अधिकारीले युनेस्कोले खतरामा राख्ने चेतावनी दिन सक्ने अवस्था आएको बताए। ‘समितिको बैठकमा नेपालले बलियो आधार पेस गर्न नसके काठमाडौं उपत्यकाका विश्व सम्पदा खतराको सूचीमा पर्छन्,’ उनले भने, ‘यसो हुन नदिन नेपाल संरक्षण, सुरक्षा र पुनर्निर्माणका लागि आर्थिक, प्राविधिक र अन्य कारणले बलियो रहेको आधार दिन सक्नुपर्छ।’
सरकारले सम्पदा संरक्षण र पुनर्निर्माणमा कति महत्व दिएको छ जस्ता कुरामा नेपालले सम्मेलनमा समिति सदस्यहरूलाई चित्त बुझाउन सक्नुपर्छ। ‘खतरा सूचीमा परे युनेस्कोले विदेशी समुदायलाई सहयोगको अपिल गर्छ,’ ती अधिकारीले भने, ‘देशले आर्थिक मात्र होइन प्राविधिक सहायतासमेत विदेशीसँग माग्नुपर्ने हुन्छ।’
यद्यपि विदेशीले पैसा दिँदैमा पुननिर्माण सकिने र नदिँदैमा नसकिने भन्ने नहुने उनले प्रस्ट्याए। नेपालले प्राथमिकतामा पारेर काम गर्ने आँट नगरे खतराको सूचीमा पर्ने उनले बताए।
विश्व सम्पदा क्षेत्रमा जथाभावी अग्ला घर बनाएको भन्दै युनेस्कोले काठमाडौंलाई सन् २००३ मा पनि खतरा सूचीमा राखेको थियो। पछि सरकारले सुधार गरेपछि सन् २००७ मा खतरा सूचीबाट हटेको थियो।
‘खतराको सूचीमा परे र युनेस्कोले दिएको समयावधिभित्र काम सम्पन्न नगरे काठमाडौं विश्व सम्पदा सूचीबाटै हट्न सक्ने अवस्था आउँछ,’ उनले भने, ‘त्यसैले सरकार आफैं योग्ग छ भनेर मात्र पुग्दैन, गरेर पनि देखाउनुपर्छ।’
प्रत्येक देशले आफ्ना स्मारकहरूको अवस्था बर्सेनि युनेस्कोलाई पठाएझैं नेपालले पनि २५ जनवरी २०१५ मा पठाएको थियो। वैशाख १२ को भूकम्पपछि युनेस्कोको प्राविधिक टोलीले खतराको सूचीमा राख्ने निर्णयसहित यहाँको सम्पदाको अवस्था तयार पार्योे।
चाँगुनारायण मन्दिर, बौद्ध स्तुप, स्वयम्भू स्तुप, पशुपतिनाथ मन्दिर, भक्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र र हनुमानढोका दरबार क्षेत्र गरी सात स्मारक रहेको काठमाडौं उपत्यका विश्व सम्पदाको सूचीमा सन् १९७९ मा समावेश भएको थियो।
नागरिकबाट


  •  
  •  
  •