एजेन्सी । ताइवानमा गएको ७ दशमलव ४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । भूकम्पमा परी सात सय ११ जना घाइते भएका छन् ।
भूकम्पका कारण कयौं आवासीय भवनहरू भत्केका छन् । भग्नावशेषमा पुरिएकाहरुको उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् ।
ताइवानमा २५ वर्षको इतिहासमा गएको यो सबैभन्दा ठूलो भूकम्प हो । यसअघि सन् १९९९ मा ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प जाँदा २ हजार ४ सयको ज्यान गएको थियो ।
आज बिहान गएको भूकम्पको केन्द्रविन्दु ताइवानको हुवालेन सहरबाट १८ किलोमिटर दक्षिणमा पर्छ । अहिलेसम्म हुवालेनमा भत्किएको भवनबाट ९ जनाको उद्धार गरिएको छ भने अन्यको पनि उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् ।
भूकम्पपछि ताइवानका धेरै स्थानमा विद्युत र इन्टरनेटका साथै रेल सेवा पनि अवरुद्ध भएको छ । ताइवानी समय अनुसार बिहान ७ बजेर ५८ मिनेटमा गएको भूकम्पपछि कम्तिमा १०१ परकम्प गएका छन् । यी परकम्प पनि कम्तिमा ४ म्याग्निच्युडको भएको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ ।