धरान, ११ चैत(ओएनएस) : महेन्द्र राजमार्ग अन्तर्गत सुनसरीको पकलीमा भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् ।
आज बिहान सवा ६ बजेतिर इटहरी उपमहानगरपालिका १९ स्थित सशस्त्र प्रहरीको बेसक्याम्प नजिकै ब्रेकफेल भएर कल्भर्टमा ठोक्किँदा ती दुईको मृत्यु भएको हो । स १ त ३२८८ नम्बरको उक्त ट्याक्टर दुर्घटनामा अन्दाजी करिब २५ वर्षीय गौरव रायको मृत्यु भएको छ भने अन्य एकको शनाखत हुन सकेको छैन् । प्रहरीका अनुसार दुवै शवलाई इनरूवा अस्पतालमा राखिएको छ ।
घाइते हुनेहरुमा भोजपुर रानीबास घर भएका ट्याक्टर चालक २१ वर्षीय प्रताप राई र उदयपुरका रोशन राई छन् । उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
घाइते चालकले ट्याक्टरको अगाडिको चक्का एक्कासी हल्लिएको र ब्रेक लगाउँदा नलागेपछि सडक किनारमा खनिएको गहिरो खाल्डोमा खसेर दुर्घटना भएको प्रहरीलाई जानकारी दिएका छन् ।