काठमाडौँ, २१ चैत(ओएनएस) : भारतमा जारी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधीका लागि आज प्रतिष्पर्धा हुँदैछ । आजको खेलमा इङल्याण्ड र वेष्ट इण्डिज दुवै टोली टि-२० विश्वकपको उपाधी दोस्रो पटक जित्ने दाउमा छन् ।
दुई टोलीमध्ये जुन टोलीले आजको खेलमा जित हासिल गर्नेछ, त्यही टोली टि-२० विश्वकपको दोस्रो पटक उपाधी हात पार्ने पहिलो टोली हुनेछ । अहिलेसम्म भएका टि-२० विश्वकपमा कुनै पनि टोलीले दुई पटक उपाधी जित्न सकेका छैनन् । यसपटक भने एक टोली दोस्रो पटक उपाधी जित्ने पक्का छ । यी दुवै टोलीले १-१ पटक विश्वकपको उपाधी जितिसकेका छन् ।
खेल कोलकाताको इडन गार्डेनमा आज सवा ७ बजेदेखी सुरू हुनेछ । समूह चरणको खेलमा यी दुई बीच मुम्बई वानखेडे मैदानमा भएको खेलमा वेष्ट इण्डिजले इङल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो ।
दुवै टोली उपाधीका लागि एक-अर्का पराजित गर्नका लागि तयार छन् । वेष्ट इण्डिजले सेमिफाइनलमा भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो भने इङल्याण्डले सेमिफाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यी दुवैबीचको आजको खेल निकै प्रतिष्पर्धापूर्ण हुने अनुमान गरिएको छ ।
दुवै टोली राम्रो लयमा रहेका कारण आजको खेलमा कसले जित हासिल गर्ला भनेर अनुमान लगाउन निकै गाह्रो छ । समूह चरणमा इङल्याण्डलाई पराजित गरेको र भारतले बनाएको १ सय ९३ रनको विशाल लक्ष्य पछ्याउँदै जित हासिल गरेका कारण उच्च मनोबलका साथ वेष्ट इण्डिज मैदानमा उत्रने छ भने इङल्याण्ड पनि न्युजिल्याण्ड जस्तो टोलीलाई पराजित गर्दै फाइनल प्रवेश गरेकाले पनि खेल निकै प्रतिष्पर्धात्मक हुने बताइएको छ ।
यस्तै, महिला टि-२० विश्वकप क्रिकेटको फाइनल पनि आज नै हुँदैछ । नेपाली समयानुसार पौने ३ बजे अष्ट्रेलिया र वेष्ट इण्डिजबीच कोलकोताको इडन गार्डेनमा नै फाइनल प्रतियोगिता हुनेछ ।
सेमिफाइनलमा वेष्ट इण्डिजको महिला टोलीले न्युजिल्याण्डको महिला टोलीलाई तथा अष्ट्रेलियाले इङल्याण्डको टोलीलाई पराजित गर्दै फाइनल यात्रा पक्का गरेका थिए ।