टी–२० विश्वकप एसिया छनोट :नेपालले कुवेतलाई ७ विकेटले हरायो

305
  •  
  •  
  •  

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटको शनिबारको खेलमा नेपालले कुवेतलाई ७ विकेटले हराएको छ ।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले कुवेतले दिएको १ सय ४२ रनको लक्ष्य १५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालका लागि कप्तान पारस खड्काले ६८ रनको अर्धशतकीय पारी खेले । पारसले ४२ बलमा ११ चौका र १ छक्कासहित ६८ रन बनाएका थिए ।

त्यस्तै शरद भेषावकरले नटआउट ३८ रन बनाए । उनले ३० बलमा ४ चौका र १ छक्कासहित ३८ रन बनाएका हुन् । त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले १३ बलमा १९ रन बनाएर आउट भए । रोहित पौडेल ६ रनमा नटआउट रहे ।

कुवेतका लागि भने मुहम्मद कासिफले ३ विकेट लिए । यसअघि सिंगापुरको इन्डियन एसोसियशन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रनको योगफल खडा गरेको थियो ।

करण केसीले आफ्नो स्पेलको पहिलो बलमै ओपनर मीट भाब्सरलाई आउट गरेपछि कुवेतको विकेट पतन शुरु भएको थियो ।

छैटौं ओभरको पहिलो र अन्तिम बलमा बसन्त रेग्मीले क्रशसः रभिजा सान्दरुवान र अदनान इद्रीसलाई आउट गरेपछि पावर प्लेको समाप्तिमा कुवेतको स्कोर ४६–३ थियो । रभिजाले १५ र अदनानले १४ बलमा २५ रनको पारी खेले ।
यस्तै नवौं ओभरमा युवा स्टार सन्दीप लामिछानेले २ विकेट लिए ।

उनले ८.३ ओभरमा बिलाल ताहिरलाई १३ रनको स्कोरमा कप्तान पारस खड्काको हातबाट क्याच आउट गराए । ८.६ ओभरमा उस्मान वाहीदलाई एलबीडब्ल्यूको धरापमा पारे । उनले खाता खोल्न सकेनन् ।

१३.५ ओभरमा अविनाश बोहोराले मोहम्मद अस्लामलाई २३ रनको स्कोरमा आउट गर्दा कुवेत ९४–६ को अवस्थामा पुग्यो । त्यसको अर्को ओभरमा सन्दीपले शिराज खानलाई बोल्ट आउट गरे । अन्तिमक्रमका ब्याट्सम्यानहरु मोहम्म असनलाई बसन्तले आउट गरे । जन्दु अहमदलाई करणले सोमपाल कामीको हातबाट क्याच आउट गराए ।

कुवेतका कप्तान मोहम्मद कासिफले सातौं नम्बरमा ब्याटिङमा आएर ३६ बलमा ४९ रनको विस्फोटक अविजित पारी खेले ।
उनले १९ औं ओभरमा करण केसीलाई २ छक्का प्रहार गरे भने अविनाश बोहोराको अन्तिम ओभरमा १ चौका र २ छक्का प्रहार गरे । अन्तिम २ ओभरमा कुवेतले ३० रन जोडेको थियो ।

नेपालका लागि बसन्त रेग्मी र सन्दीप लामिछानेले ३–३ विकेट लिए । त्यस्तै करण केसीले २ विकेट लिँदा अविनाश बोहोराले १ विकेट लिए ।

जितसँगै नेपाल टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो भएको छ । अब नेपालले आइतबार सिंगापुरसँग खेल्नेछ ।


  •  
  •  
  •