नयाँ बर्षमा सुदूरपश्चिमेलीले काठमाडौंमा नाङ्गो तरवार नचाउने

798
  •  
  •  
  •  

काठमाडौं, २६ चैत (ओएनएस) :  नयाँ बर्ष २०७२ लाई कसरी मनाउने ? घर, कार्यालय, समूह–समूहमा योजना बन्न थालेका छन् । तर, काठमाडौंमा रहेका सुदूरपश्चिमेलीले भने फरक किसिमले नयाँ बर्ष मनाउने भएका छन् ।

सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको प्राकृतिक, सांस्कृतिक स्वरुपका विषयमा जानकारी दिन नयाँ बर्षको पहिलो दिन काठमाडौंमा विषेश कार्यक्रम गरिने भएको छ । राजधानीमा सुदूरपश्चिमाञ्चल सांस्कृतिक झलक सहित वैशाख १ गते विषु पर्व मनाउन लागिएको हो । सुदूरपश्चिमाञ्चल लोक सांस्कृतिक संरक्षण मञ्च नेपालले गर्न लागेको विषेश सांस्कृतिक कार्यक्रममा सुदूरपश्चिमका कला सस्कृतिको बारेमा जानकारी गराइनेछ ।

‘नेपालीको विविध संस्कृति, पहिचान, सदूरपश्चिमको मौलिक, कला संस्कृति जगेर्ना गर्ने अभियान’ भन्ने नारासहित मनाउन लागेको विषेश कार्यक्रममा सुदूरपश्चिमका लोक संस्कृति, जाती भेषभुषाको प्रर्दशनी गर्ने मञ्चका अध्यक्ष एमाले वैकल्पिक केन्द्रीय सदस्य झपट रावलले जानकारी दिए ।

कार्यक्रममा भुवा नाच, होरी नाच, भुम्रा नाच, गौरा नाच महोत्सवको मुख्य आकर्षण रहने छ । सुदूरपश्चिमको पहाडी जिल्लामा लोकप्रीय पुताला, हुड्कजस्ता स्थानीय तथा राष्ट्रिय कलाकारहरुको भरपुर प्रस्तुती रहनेछ । भुवामा रहेका युद्धकलासहित नाङ्गो तरबार नाच पनि देखाइनेछ ।

‘सुदूरपश्चिममा रहेका विषेश कला सस्कृतिलाई कार्यक्रममा प्रस्तुत गरिनेछ’ अध्यक्ष रावलले भने, ‘इतिहास बोकेको र युद्धकलासँग जोडिएको ढालतरबार नाच अथवा भुवा विषेश आकर्षक हुनेछ ।’

कार्यक्रममा महोत्सवमा कमल वली, बद्री पंगेनी लगायतका राष्ट्रिय गायकगायिकाको पनि प्रस्तुती रहनेछ । सुदूरपश्चिमका कला संस्कृतिलाई एक पुस्ताबाट अर्को पुस्तामा रुपान्तरण गर्न काठमाडौंमा विषेश कार्यक्रम गर्न लागेको रावलले बताए ।


  •  
  •  
  •