स्वीस बैंकमा कालोधन हुनसक्ने अर्थ समितिको आशंका

131
  •  
  •  
  •  

काठमाडौं, ३ फागुन (ओएनएस)  :  नेपालीहरुको कुन कुन देशमा खाता छ भन्ने विवरण आफूसँग नभएको राष्ट्र बैंकले जनाएको छ । देशको समग्र मुद्रा नीतिको नेतृत्व गर्ने राष्ट्र बैंकले नेपालमा आउने पैसा र नेपालीहरुको खाताको विषयमा यथार्थ विरण आफूसँग नभएको बताएको हो ।

स्वीजरल्याण्डको एचएसबीसी बैकमा आठ नेपालीका १२ खातामा पाँच अर्ब रकम रहेको भन्ने विषयमा छलफलका लागि डाकेको बैठकमा राष्ट्र बैकका गर्भनर युवराज खतिवडाले यस्तो अनभिज्ञता व्यक्त गरेका हुन् ।

‘यो समाचार सार्वजनिक भएदेखि नै हामीले यसबारे अध्ययन थालेका छौं’, गभर्नर खतिवडाले भने, ‘तर अहिलेसम्म नेपालीहरु क–कसले त्यहाँ खाता खोलेका छन् र त्यो पैसाको अवस्थाबारे हामीले यकिन विवरण पाउन सकेका छैनौं ।’

उनले अहिले नाम सार्वजनिक भएका व्यक्तिले खाता संचानलका लागि आवश्यक राष्ट्र बैंकको स्वीकृति भने नलिएको बताए । राष्ट्र बैंकको स्वीकृतिविना विदेशी बैंकमा खाता संचालन गर्नु कानुन विपरित भएपनि त्यो रकम बैधानिक अबैधानिक भनेर उनले टिप्पणी गरेनन् ।

अजय सुमार्गीको नाममा आएको रकम बैधानिक वा अबैधानिक के हो र त्यो भूक्तानी किन नभएको भन्ने सन्दर्भको जवाफमा पनि उनले सुमार्गीको नाम उच्चारण गरेनन् ।

‘जहाँसम्म माननीय सभासद ज्यूहरुले उठाएको व्यक्तिको नाममा विदेशबाट आएको पैसाको कुरा हो, त्यो कम्पनि नै नखोली लगानीका लागि भनेर आएका कारण रोकिएको हो’ उनले भने, ‘कुनै कम्पनि नै नखोली विदेशबाट लगानी आउछ भने त्यो रकम स्वीकार गर्न कसरी मिल्छ ?’

सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक केवलप्रसाद भण्डारीले विश्वका विभन्न देशका तानासाहले राखेको स्वीस बैंकको पैसा फिर्ता हुँन समेत गाह्रो भएको भन्दै कालो धन त्याहाँ गएको भएपनि त्यसको विवरण पाउन र फिर्ता गराउन सहज नभएको बताए ।

‘स्वीस बैंकमा परिवारका सदस्यहरुलाई समेत खाताको जानकारी नदिने सर्तमा खाता संचालन गरिएको हुन्छ’ उनले भने, ‘यदि फर्काउन सहज बाटो खोज्ने हो भने पारस्पारिक कानुनी सहायाता सन्धी गरेर त्यसपछि प्रक्रिया अघि बढाउदा उपयुक्त हुन्छ ।’

उनले नेपालीका १२ खातामा पाँच अर्ब रकम रहेको समाचार सार्वजनिक भएपछि त्यहाँ बुझ्दा राष्ट्रसंघीय नियोगमा कार्यरत आठ नेपाली र चार जना तीनका आफन्त रहेको जानकारी प्राप्त भएको जानकारी दिए ।

अर्थ मन्त्रालयउका सचिव सुमप्रसाद शर्माले लगानीका लागि आउने पैसा रोक्न नहुने सरकारको नीति भए पनि त्यसलाई बैधानिक बाटोबाट भित्र्याउनुपर्ने बताए । ‘लगानी भनेको पनि पानी जस्तै हो’ उनले भने, ‘यदी पानीको बहाव थुनियो भने कतै न कतैबाट निकास खोज्छ, लगानीले पनि त्यस्तो अवस्था नहोस भनेर सरकार केही लचिलो बन्न खोजेको हो ।’

समितिको निर्देशन
अर्थ समितिले स्वीजरल्याण्डको एचएसवीसी बैकमा रहेको भनिएको नेपालीको पाँच अर्व रकमका विषयमा छानविन गरी कानुनी दायरामा ल्याउन सरकार र राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।

समितिको बसेको बैठकले राष्ट्र बैंक र सम्पत्ती सुद्धीकरण अनुसन्धान विभागलाई नेपालीहरुको अन्य कुन–कुन देशमा खाता छ र त्यसमा त्यसको बैधानिक अवस्था के छ भन्ने लगत राख्न पनि निर्देशन दिएको हो ।

‘विदेशमा कमाउने नेपालीको पनि नेपालमा बसोबास सुरू गरिसकेपछि त्यहाँ खाता राख्न नपाइने कानूनी प्रावधान छ’, समितिका सभापति प्रकाश ज्वालले भने, ‘झन् अहिले सार्वजनिक भएको आठ नेपालीका १२ खातामा रहेको पाँच अर्व नेपाली रुपैया ब्ल्याक मनि हो वा ह्वाइट मनि हो भन्ने विषय तत्काल छानविन गरेर सार्वजनिक गर्न यो समिति निर्देश गर्दछ ।’

उनले नेपाली नागरिकता भएका व्यक्तिले विदेशमा पैसा राख्दा कर छली हुने हुँदा राष्ट्रकै लागि हितकर नभएको बताए ।


  •  
  •  
  •