स्वाइन फ्लु नियन्त्रण गर्न एयरपोर्ट र सिमा क्षेत्रमा कडाई गरिने

201
  •  
  •  
  •  

काठमाडौं, ११ फागुन (ओएनएस) :  पोखरामा दुई जनामा स्वाइन फ्लुको संक्रमण भेटिएपछि सरकारले गंभिर ध्यानाकर्षण भएको जनाउँदै एयरपोर्ट र सिमा क्षेत्रमा कडाईका साथ चेकजाँच गर्न निर्देशन दिएको छ ।

विशेषगरी अन्तर्राष्ट्रिय विमानस्थल तथा तराई मधेशका नाकाहरुबाट नेपाल भित्रिने मानिसहरुको लेजर मेशिनको सहायताबाट रोग भए नभएको जाँच गरिने सकारले जनाएको छ ।

यस्तै सामान्य अवस्था भए उच्च सतर्कता साथ औषधी उपचार गर्न सल्लाह दिइनेछ भने रोगको सक्रमण बढी पाइएमा नजिकको अस्पतालमा आइसोलेसन कक्ष खडा गरी उपचारको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ । भारतमा हजारौ मानिसमा स्वाइन फ्लुको संक्रमणपछि नेपालमा पनि भित्रर्न सक्ने आशंका गरिएको बेलामा सरकारले निर्देशन दिएको हो ।

मुलुकमा देखा परेको स्वाइन फ्लु रोगको संक्रमण रोगबाट जोगिन समयमै उच्च सतर्कता अपनाउन चेतनामूलक कार्यक्रम सञ्चालन गर्न र रोगको उपचारमा विशेष ध्यान दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

कार्यालयका सचिव शान्तराज सुवेदीलका अनुसार सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य सेवा विभागका उच्च अधिकारी सहितको टोलीसँग छलफल गर्दै स्वाइन फ्लु रोगको रोकथाम र उपचारमा विशेष ध्यान दिन कार्यालयले निर्देशन दिएको थियो ।

सचिव सुवेदीका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागले स्वाइन फ्लु रोगबाट जोगिने उपायहरु सहित सञ्चार माध्यमबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछ । संक्रमित विरामीको तथ्याङक गरी बढी विरामी देखिएको क्षेत्र तालिम प्राप्त चिकित्सकको टोली नै पठाई उपचार गर्ने पनि सरकारले जनाएको छ ।


  •  
  •  
  •