जाजरकोटमा मृत्यु भएका मध्ये तीन जनामा स्वाइन फ्लू

201
  •  
  •  
  •  

काठमाडौं, १ बैशाख (ओएनएस) : विगत दुई सातादेखि फैलिएको अज्ञात रोगका कारण जाजरकोटमा १६ जनाका मृत्यु भएका मध्ये ३ जनामा स्वाइन फ्लूको संक्रमण भेटिएको  छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएअनुसार माहामरीको रुपमा रोग फैलिएपछि मृत्यु भएकाको र्‍याल परीक्षणको लागि काठमाडौं ल्याएकोमा तीनमा स्वाइन फ्लूको संक्रमण भेटिएको हो । महाशाखाका प्रमुख डा बाबुराम मारिसीनीका अनुसार १२ जनाको र्‍याल परिक्षण गर्दा ३ जनामा स्वाइन फ्लूको संक्रमण भेटिएको हो ।

यसअघि मंगलबार मात्र रोगका कारण जजरकोटमा थप ४ जनाले ज्यान गुमाउँदा मृतकको संख्या १६ पुगेको थियो । पछिल्लो पटक टालेगाउँ गाविस वडा नं ३ का ५० वर्षीया लक्ष्मी नेपाली, वडा नं ५ का ५५ वर्षीया धनकला दमाईं, वडा नं ६ का ५१ वर्षीय हस्ते कामी र वडा नं २ का ६१ वर्षीया महेश्वरा सिंहको मृत्यु भएको हो।

मङ्गलबार मात्र १८० जना बिरामी उपचारका लागि अस्पताल ल्याइएको छ। बिरामी राख्ने ठाउँ नभएका कारण खुला चौरमा राखेर उपचार गर्न बाध्य भएका छन् । बिरामीहरुमध्ये श्वासप्रश्वाससम्बन्धी रोगी बढी भएको स्वास्थ्यकर्मीले बताएका छन् । यसअघि सरकारी टोलीले जाजरकोट भ्रमणपछि रोग नियन्त्रणमा आउने बताएका थिए ।

सरसफाइको कमी, शुद्ध खानेपानीको अभावका कारणले रोगको संक्रमण बढेको बताइएको छ ।


  •  
  •  
  •