समाउला स्वाइन फ्लुले

80
  •  
  •  
  •  

काठमाडौं ११ फागुन । ‘स्वाइन फ्लु’ का नाममा चिनिने मौसमी इन्फ्लुएन्जा ‘ए’ (एच१पेन्डेमिक ००९) ले भारतमा महामारीको रूप लिएपछि नेपालमा पनि जोखिम बढेको छ। केही दिनअघि भारतको नयाँदिल्लीबाट फर्किएका दुई जना नेपालीमा संक्रमण पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले शुक्रबारै उच्च अधिकारी र विशेषज्ञको बैठक बोलाएको थियो।

त्यसयता थप चार जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। मन्त्रालयले सतर्कता अपनाउन जोखिमयुक्त नाकाहरूमा ‘हेल्थ डेस्क’ राख्ने र ती क्षेत्रका अस्पताललाई ‘आइसोलेसन वार्ड’ (छुट्टै बिरामी राख्ने) बनाउन निर्देशन दिने निर्णय गरेको छ।

भारतमा दुई महिनायता यो रोगबाट झन्डै आठ सयको ज्यान गइसकेको छ। पछिल्लो साता मात्रै ११ हजारमा यस्तो भाइरल प्रमाणित भएको थियो।

‘छिमेकमा ठूलो संख्यामा बिरामी र मृत्युका घटना भइरहेकाले मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. बाबुराम मरासिनीले आइतबार नागरिकसँग भने, ‘नेपालका विभिन्न अस्पतालमा यस्ता लक्षण देखिएका बिरामी आइरहेकाले तिनलाई चिकित्सकको सिफारिसमा विशेष औषधि टाँमी फ्लु दिन थालिएको छ।’

भाइरसको विशेष औषधि नभए पनि संक्रमणको ४८ घन्टाभित्र खाए टाँमी फ्लुले यसको वृद्धि रोक्ने उनले बताए। महाशाखाका अनुसार आइतबारै नर्भिक अस्पतालका चिकित्सकको सिफारिसमा सात जनालाई उक्त औषधि दिइएको छ।

हिउँद सुरु भएदेखि गर्मी नबढ्दासम्म कम तापक्रममा यस्ता भाइरस फैलिने गर्छन्। मौसमी रुघाखोकीका रूपमा देखिने यस्ता भाइरसले सुरुमा माथिल्लो श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्छ। त्यसपछि श्वासप्रश्वास प्रणालीको तल्लो भागमा संक्रमण गरी निमोनिया गराएर ज्यानै लिनसक्छ। समयमा पहिचान र व्यवस्थापन नगरे रोग जटिल बन्छ।

विज्ञहरूका अनुसार संसारमा स्वरुप परिवर्तन गरिरहने भाइरसको विशेष उपचार छैन। दोस्रो जेनरेसनमा टाँमी फ्लु नामको औषधि नेपालमा उपलब्ध भए पनि चिकित्सकको सिफारिसमा जोखिमयुक्त समूहमा पर्ने बिरामीलाई मात्र दिन पाइन्छ।

नेपालमा यसअघि नै यो खालको भाइरस देखापरिसकेकाले जुनसुकै बेला महामारी रूप लिनसक्ने चिकित्सकहरू बताउँछन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका इन्फ्लुएन्जा सम्पर्कव्यक्ति डा. जितेन्द्रमान श्रेष्ठले अहिलेको अवस्थामा सकेसम्म रोग सर्न नदिने र सरिसकेको अवस्थामा खतराको चिह्न पहिचान गरी उपचार गराउन सचेत रहनुपर्ने आवश्यकता औंल्याए।

डा. श्रेष्ठका अनुसार यो इन्फ्लुएन्जाले सुरुमा माथिल्लो श्वासप्रश्वास प्रणालीमा संक्रमण गर्ने भएकाले ९९ प्रतिशतमा मन्द प्रकृतिको र एक प्रतिशतमा मात्रै गम्भीर असर देखाउँछ। ‘स्वाइन फ्लु हो भन्ने यकिन हुँदा पनि श्वासप्रश्वासमा अप्ठेरो नहुँदासम्म डराउन पर्दैन,’ डा.श्रेष्ठले नागरिकसँग भने, ‘प्रतिरोध क्षमता कमजोर भएका, विभिन्न दीर्घरोगी, गर्भवती महिला, पाँच वर्षमुनिका बालबालिका र ६५ वर्षमाथिका मानिसमा भने यसको गम्भीर असर हुनसक्छ।’

चिकित्सकहरूले उच्च ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने र बालबलिकामा वाकवाकी तथा वान्ता हुने, पेट मडारिने र पखाला लाग्नेजस्ता थप लक्षण देखिने बताएका छन्। प्रभावित मानिसको सम्पर्कमा पुगेपछि खोक्दा, हाच्छिऊँ गर्दा र थुक्दा श्वासप्रश्वासका माध्यमबाट यो रोग सर्न सक्छ।

धेरै मानिस जम्मा हुने ठाउँमा, संक्रमित व्यक्तिसँग हात मिलाउँदा, म्वाइँ खाँदा, अंगालो मार्दा रोग सर्ने जोखिम बढी हुन्छ। बिरामीले प्रयोग गरेका रुमाल, चुरोट, गिलास, ढोका, फोन लगायतबाट पनि रोग सर्नसक्छ।

‘स्वाइन हैन सिजनल फ्लु’

चार वर्षअघि नै सिजनल फ्लु (मौसमी रुघाखोकी) मा परिणत भइसकेको पेन्डेमिक एन्फ््कुएन्जा एच१एन१लाई ‘स्वाइन फ्लु’ भन्न नमिल्ने डा. श्रेष्ठले बताए। स्वाइन फ्लु भन्न सुंगुरबाट मान्छेमा सर्ने र मान्छेबाट मान्छेमा नसर्ने भाइरस हुनुपर्ने उनको भनाइ छ।

सन् २००९ मा पहिलोपटक देखिएको एन१एन१ प्रजातिको भाइरस सुंगुरमा पनि देखिएकाले त्यसैबाट सरेको आशंकामा स्वाइनफ्लु भन्न थालिएको हो। तर संसारमा धेरैपटक महामारी गराइसकेको ‘इन्फ्लुएन्जा टाइप १’ नयाँ प्रजाति भएको डा. श्रेष्ठ बताउँछन्। नागरिकबाट


  •  
  •  
  •