चितवनमा ३०९ विरामीमा स्वाइफ्लु देखियो, चार जनामा डेंगु

249
  •  
  •  
  •  

swine-flu

चितवन, १६ भदौ (ओएनएस) : भरतपुर अस्पतालमा उपचारका लागि आएका विरामीमध्ये ३०९ जनामा स्वाइनफ्लु देखा परेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले अस्पतालमा तीन महिनाको अन्तरालमा उपचारका लागि आएका ३८० बिरामीमध्ये ३०९ जनामा स्वाइनफ्लु भनेर चिनिने ‘इन्फ्लुएञ्जा ए एचवान एनवान’ संक्रमण भएको पुष्टि भएको जनाएको छ ।

कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जिल्लामा फ्लु ए देखिएपछि नमुना थप परीक्षणका लागि काठमाडौं पठाइएको ३८० जनामध्येबाट ३०९ जनामा संक्रमण पुष्टि भएको जनाकारी दिए । संक्रमण भएकामध्ये २५३ जना चितवनका बासिन्दा हुन् ।

बाँकी ५६ जना भने बाहिरी जिल्ला तनहुँ, धादिङ, नवलपरासीलगायतबाट चितवनमा आई उपचार गरिएका बिरामी छन् । स्वाइनफ्लु लागेका बिरामीमा शुरुमा रुघा लाग्ने, ज्यान दुख्ने, घाँटी दुख्ने, ज्वरो आउनेलगायत लक्षण हुने भएकाले चिकित्सकको निगरानीमा उपचार गर्नुपर्ने भरतपुर अस्पतालका डा कालिदास अधिकारीले बताए । उनले फ्लु ए संक्रमण भएका बिरामीको चाप अस्पतालमा अत्यधिक भएको बताए ।

त्यस्तै, भारतको मुम्बईमा बिरामी भएर आएका एक व्यक्तिसहित जिल्लामा डेढ महिनाको अन्तरालमा चारजनामा डेंगु देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक राम केसीका अनुसार साउन १ देखि भदौ १५ सम्ममा चारजनामा डेंगु देखिएको छ । 

एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा डेंगु सार्ने भएकाले लामखुट्टेबाट बच्न सके र घर वरपर भाँडामा पानी जम्न नदिए रोगबाट बच्न सकिने चिकित्सकले जनाएका छन् । यसैबीच चितवनमा एक जनामा चिकनगुनिया रोग समेत देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।


  •  
  •  
  •