स्वाइन फ्लु संक्रमित एमाले नेताको अवस्था गम्भीर

138
  •  
  •  
  •  

काठमाडौं १७ चैत । स्वाइन फ्लु संक्रमणबाट सिकिस्त एमाले पोलिटब्युरो सदस्य तथा पूर्वसांसद रामनाथ ढकालको अवस्था स्थिर र गम्भीर रहेको अस्पतालले जनाएको छ । ग्रान्डी अस्पतालमा ४ दिनदेखि उपचारत ढकाललाई थप उपचारार्थ नयाँदिल्ली लैजाने तयारी भए पनि मौसम खराबीका कारण सोमबार पनि एयर एम्बुलेन्स उड्न सकेन । उनको अवस्था खतरामुक्त नरहेको अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले जनाए ।

‘थुप्रै खालका स्वास्थ्यसम्बन्धी समस्या देखिएका छन्,’ डा. पाण्डेले भने, ‘अवस्था स्थिर र गम्भीर छ तर भर्ना भएको दिनभन्दा बिग्रेको चाहिँ छैन ।’

एमाले केन्द्रीय सदस्य हिक्मत कार्कीका अनुसार ढकाललाई लैजान दिल्लीबाट एयर एम्बुलेन्स काठमाडौं आइसकेको छ । तर मौसमका कारण सोमबार लान नसकिएको उनले जनाए । ‘सानो इन्जिनवाला एयर एम्बुलेन्स भएकाले मौसम खराबीका कारण उड्न सकेको छैन,’ कार्कीले भने, ‘मंगलबार हामी लैजाने कोसिस गर्दैछौं ।’ ग्रान्डी अस्पतालमा भेन्टिलेटरमा राखेर ढकालको उपचार भइरहेको छ । ढकाललाई दिल्लीको एपोलो अस्पतालमा लैजाने तयारी छ । रुघाखोकी र ज्वरो बढेपछि उनी ४ दिनअघि ढकाल अस्पताल गएका थिए ।
कान्तिपुरबाट


  •  
  •  
  •