श्वेतासामु नि:शब्द

175
  •  
  •  
  •  

काठमाडौं ४ भदौं ।
आमै, श्रीकृष्णको घर कता हो ?

म्हैपीमा पुगेर एउटा पसलमा रहेकी वृद्धालाई सोध्नासाथ उनले घरको गेटैमा ठोक्किने गरी लोकेसन दिइन् । वृद्धाले भनेबमोजिम गुलाबी रङको तीनतले घरअघि हामी रोकियौँ ।

घरको मूलगेट आधा खुल्ला थियो । मानिसहरूको भीडभाड बाहिरैबाट देखिएपछि अल्मलिने कुरै भएन । गेटबाट पस्नासाथ नेपालको राष्ट्रिय झन्डा र त्यसमुनि तस्बिरमा हात हल्लाएर आगन्तुकलाई स्वागत गरिरहेका जस्ता श्रीकृष्ण । थुप्रै शुभचिन्तकहरू उनको तस्बिरमुनि सल्बलाइरहेका थिए ।

फोटोपत्रकार सतिश र म दुवै तस्बिरमा घोरिएर भावुक भइरहेका वेला केशमुण्डन गरेका एक मोटा व्यक्तिले कुर्सीमा बस्न आग्रह गरे । उनी श्रीकृष्णका दाइ थिए । लहरै राखिएका कुर्सीमा बस्नासाथ एक महिलाले फलफूल र चिसोले सत्कार गरिन् ।

‘तपाईंहरू मिडियाबाट हो ?’ श्रीका दाजुले सोधे । सकारात्मक उत्तरपछि उनले भित्र जाऊँ भने । बाहिर जुत्ता खोलेर हामी भुइँतलाको बैठक कोठामा छिर्‍यौँ ।

०००
नायक श्रीकृष्ण श्रेष्ठले भौतिक संसारबाट बिदा लिएको १०औँ दिन बेलुकी ३ बजे हामी उनको घरमा छौँ । करिब १० वर्षअघि बनेको यो घर सँगोलको हो । श्रीकृष्णका ६ दाजुभाइमध्ये पाँच जनाको परिवार यहीँ बस्छन् । यो संयुक्त परिवारको एकता र स्नेह लोभलाग्दो छ ।

एकै ठाउँ बसे पनि सबै दाजुभाइका आआफ्ना व्यवसाय छन् । जेठो दाइ रामकृष्ण, माइलो बालकृष्ण र साइँलो हरिकृष्ण औषधि व्यवसायी हुन् । त्यसपछिका श्यामकृष्ण सिन्धुपाल्चोकमा एउटा हाइस्कुलका प्रिन्सिपल छन् । सो स्कुल उनीहरूका बुबा राधाकृष्णले खोलेका थिए । श्रीकृष्ण माथिका मीनकृष्ण किचेनवेयर र इलेक्ट्रोनिक्सको व्यापार गर्छन् । कान्छा श्रीले चलचित्र निर्माणबाहेक होटल तथा फिटनेस सेन्टर सञ्चालन गर्दै आएका थिए । श्रीले बनाएका दुवै चलचित्रमा पारिवारिक लगानी रहेको छ । अन्तिम फिल्म कोहिनुरमा भिनाजु चन्द्रप्रसाद श्रेष्ठ पनि संलग्न छन् ।

६ दाजुभाइबीच उमेरको अन्तराल लगभग उस्तै छ । जेठा राधाकृष्ण ६१ वर्षका हुन् भने कान्छा श्रीकृष्ण ४६ वर्षका । बुबा राधाकृष्णको पाँच वर्षअघि हृदयाघातले मृत्यु भयो । आमा जगतकुमारी ८७ वर्षकी भइन् । राधाकृष्णको मृत्युपछि जेठा रामकृष्णलाई सबैले अभिभावक मान्छन् ।

०००
चिटिक्क परेको बैठक कोठा । ठूलो टिभी स्क्रिनमुनि टोलाएर बसिरहेका व्यक्ति श्रीका जेठा दाइ हुन् भनेर ठम्याउन गाह्रो भएन । ६० नाघे पनि रामकृष्ण उमेरभन्दा निकै कमका देखिन्छन् ।

दिल्लीको गंगाराम अस्पतालमा १८ दिन भाइ श्रीसँग बिताएर नेपाल फर्केका थिए उनी । तर, दाइले छाडेको केही दिनमै श्रीकृष्णले संसार छाडे । हामीसित भाइको कुरा गर्ने रामकृष्णको गला पटक–पटक अवरुद्ध भयो ।

कोठाभित्र निर्देशक आकाश अधिकारी र श्रीका भिनाजु चन्द्रप्रसाद प्रवेश गरे । श्रीको मृत्युपछि चन्द्रप्रसादले सबै रेखदेख गरिरहेका छन् । निर्देशक अधिकारी पनि नियमितजस्तो आउँछन् । त्यति नै वेला प्रधानसेनापति गौरवशमशेर जबराको श्रद्धान्जली–सन्देश एक दूतले परिवारलाई हस्तान्तरण गरे ।

दसौँ दिनसम्म पनि श्रेष्ठ–निवासमा आफन्त, साथीभाइ, शुभचिन्तकको ओइरो टुटेको छैन । सोमबार दिउँसो नै प्रख्यात हास्यकलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ पनि आएका रहेछन् । उपप्रधानमन्त्री प्रकाशमान सिंह, एमाओवादी नेता डा. बाबुराम भट्टराई दम्पती, एमालेका नेता अमृत बोहरालगायत नेताहरू पनि भेट्न आएको परिवारजनले जानकारी दिए । कलाकारहरूको त हरेक दिन लाइन नै लागिरहेको छ । महानायक राजेश हमालबाहेक चलचित्र क्षेत्रका अधिकांश कलाकारहरू भेट्न आइसकेका छन् । भेट्न आउनेमध्ये धेरै श्रेष्ठ परिवारका लागि अपरिचित पनि हुँदा रहेछन्, जो श्रीकृष्णका फ्यान हुन् ।

श्रीकृष्णमाथिका मीनकृष्णसित हाम्रो लामै संवाद भयो । श्रीकृष्णलाई अन्तिम अवस्थामा भेट्ने भाग्यमानी उनै थिए । निकै फरासिलो स्वभावका मीनकृष्णले भाइको विषयमा खुलेर कुरा गरे । ‘श्री मेरो साथीजस्तै थियो,’ उनले भने, ‘हामीबीच सबै कुरा सेयर हुन्थ्यो । दाइहरूसित भन्न नसकेका कुरा मलाई भन्थ्यो ।’

मैले श्रीकृष्णकी पत्नी श्वेताको अवस्था सोधेँ । ‘श्वेता बहिनी बिस्तारै सम्हालिँदै छिन्,’ मीनकृष्णले भने, ‘हामी उनलाई सहनशील बन्न प्रेरित गरिरहेका छौँ ।’ मैले एकचोटि भेट्ने इच्छा व्यक्त गरेपछि मीनकृष्णले हामीलाई माथिल्लो तल्लामा लिएर गए । भर्‍याङ उक्लिँदै गर्दा उनले भने, ‘श्वेता बहिनी त्यति बोल्न सकेकी छैनन् ।’

०००
श्रीकृष्ण नभएको भए श्वेता सम्भवत: फिल्म लाइनमा हुन्न थिइन् । करिब ६ वर्षअघि कहाँ भेटिएलाका लागि नायिका खोजिरहेका वेला श्रीले श्वेतालाई भेटेका थिए । त्यतिवेलाको रिल जोडी ४० दिनअघि रियल जोडीमा परिणत भएको थियो ।

बिहे गरेको एक महिनामै सिउँदो उजाडिनुको कल्पना पनि गर्न सक्दैनन् आम महिला । तर श्वेतालाई यही अकल्पनीय बज्रपात पर्‍यो । ४० दिनअघिको मिठो क्षण अब चिसो स्मृतिमा बदलिएको छ । लामो अफेयरलाई सम्बन्धमा परिणत गरेर भविष्यको योजना बुनिरहेको जोडी अल्पायुमै भत्किएको छ ।

श्रीकृष्णलाई माया गर्ने सबैको सहानुभूति यतिवेला श्वेतातर्फ मोडिएको छ । पशुपति आर्यघाटमा पतिलाई बिदा गरेर फर्किँदाखेरि श्वेताको जुन अवस्था थियो, त्यो देख्दा कसको मुटु छियाछिया भएन होला ? त्यतिवेला हजारौँ प्रशंसकहरू उनको साथ थिए, तर जुन चोट श्वेतालाई परेको थियो, त्यसको महसुस उनले मात्र गर्न सक्थिन् । आखिर एक नेपाली नारी न हुन् ।

०००
थुप्रै मानिसहरू भए पनि कोठा चकमन्नजस्तै थियो । हामी खाली सोफामा बस्यौँ । बेडमुनि तकियामा अडेस लगाई ब्ल्यांकेट ओढेर पल्टिरहेकी श्वेतामा आँखा अडिए । उनका आँखा बन्द थिए, अनुहार पूरै उजाड र भावविहीन ।

दुई महिनाअघि मात्रै आफ्नो फिल्म कोहिनुर हेर्न आग्रह गर्दै मिडियालाई हाँसी–हाँसी अन्तर्वार्ता दिने हिरोइन यिनै हुन् भनेर कसले पत्याउने ? कसरी पत्याउने ? डेढ महिनाअघि मात्रै राजकुमारीजस्ती भएर श्रीकृष्णसित लगनगाँठो कस्ने श्वेता यिनै हुन् भनेर कसले पत्याउने ? कसरी पत्याउने ?

श्वेताले वेला–वेला आँखा खोल्थिन्, तर धेरै बेरका लागि होइन । आँखा खुल्दा दुई आँखीभौँ यसरी खुम्चिन्थे, मानौँ टाउकोमा असह्य दर्द भइरहेको छ । छेउमा उनकी बहिनी र एक साथी थिए । दुवै जना श्वेतालाई हेर्दै पिलपिल गरिरहेका थिए । कोठाभित्र केही मानिसहरू बदलिए । जानेहरूले बिदा माग्दा आँखा खोल्थिन् र टाउको हल्लाउँथिन् । त्यत्ति हो ।

मसित श्वेतालाई सोध्ने कुनै प्रश्न थिएन । सहानुभूति दिने कुनै शब्द थिएन । करिब आधा घन्टा हामी नि:शब्द बसिरह्यौँ । जाने वेलामा अलिकति साहस गरेर म उनको नजिक गएँ । ‘भाउजू, हामी तपाईंलाई भेट्न आएका ।’

उनले आँखा खोलिन् र बहुतै दबिएको स्वरमा सोधिन्, ‘कताबाट आउनुभएको ?’ हामीले आफ्नो परिचय दियौँ र बिदा माग्यौँ ।

नयाँपत्रिकाबाट/चिरञ्जीवी पौडेल
तस्बिर : सतिश पोखरेल


  •  
  •  
  •