जेलमा बसेकाले विकास गर्दैनन्, जेल बनाउँछन्

245
  •  
  •  
  •  

गुरु भाइहरू मलाई ध्यान गर्ने मानिसले किन राजनीति र आर्थिक विषयमा छलफल गर्नु पर्यो भनेर सोधेका थिए । गुरु भाइहरूको प्रश्नको जवाफमा मैंले समाज सम्पन्न नभएसम्म धर्म पनि पाखण्ड हुन्छ भनेको थिएँ । ध्यान, जप, योग र साधना मात्रै गरेर हुँदैन देश अप्ठेरोमा परेका बेला हामीले पनि योगदान गर्नुपर्छ भनेर राष्ट्रिय चिन्तनको सुरुवात गरेका हौं ।

मुलुकको वर्तमान धरातलीय यथार्थतामा आध्यात्मिक चिन्तन विषयक कार्यक्रममा हामी विकास तथा अध्यात्मबिचको सम्बन्धका बारेमा छलफल गरिरहेका छौं । अभियानकै रुपमा सुरु भएको यो पहिलो छलफल हो । यसमा नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेल र उद्योगपति व्यवसायी उपेन्द्र महतोको सहभागिता रहनु हाम्रा लागि गौरवको विषय हो ।

गरिबीमा मुक्ति भन्दा सम्वृद्धिका लागि प्रार्थना
सम्पन्नता र विपन्नतामा धर्म पनि फरक हुन्छ । विपन्नतामा धर्म पनि फस्टाउन सक्दैन । विपन्न समाजको सदस्य पशुपति दर्शन गर्न जाँदा पनि छोरालाई मालदार ठाउँमा सरुवा गरिदेऊ प्रभु भनेर वरदान माग्छन् । गरिबीमा मानिसले मुक्तिका लागि नभई सम्वृद्धिका लागि प्रार्थना गर्छ । हामी नेपालमा जन्मिएकोमा गर्व गर्नुपर्छ । प्रकृतीले हामीलाई अन्याय गरेको छैन, बरु हामीले प्रकृतीमाथि अन्याय गरेका छौं । प्रकृतिले सम्पन्न मुलुकको नागरिकका रूपमा जन्माए पनि १४ घण्टा लोडसेडिङमा बस्नु पर्ने हाम्रो बिडम्बना छ ।

अब राजनीतिलाई मात्र दोष दिएर अरु पढेलेखेका बुद्धिजीवीले टुलुटुलु हेरीबस्नु उचित हुँदैन । राजनीतिले मात्रै नभई बुद्धिजिवीले पनि देशको विकासका लागि के गरे त भनेर पछिल्लो पुस्ताले औला ठड्याउँछन् । एक सय जनाले नेपाल बन्द गर्छन्, उद्योग जलाउँछन्, जलविद्युत आयोजना बन्न दिँदैनन् । तर हामी कोठामा बसेर अरुलाई गाली मात्रै गर्छौं । देशलाई समस्या परेका बेला हामीले केहि गर्न सकेनौं भने राजनीतिलाई मात्रै दोष दिन पाइँदैन । तपाई हामी पढेलेखेका बुद्धिजिवीले के हेरेर बस्यौं भनेर पछिल्लो पुस्ताले सोध्दा के जवाफ दिने ?

प्रत्येक पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झर्दा मलाई रुन मन लाग्छ । किनभने संसारका १० वटा निकृष्ट विमानस्थलको कुरा गर्दा हाम्रो विमानस्थलको नाम पहिलोमा पर्छ । संसारका सबैभन्दा असुरक्षित १० विमान कम्पनीको सूचीमा हाम्रै विमान कम्पनीहरु परेका छन् । त्रिभुवन विमानस्थलमा ओर्ले पछि यसो दायाँ बायाँ हेर्यो आफ्नै एअरलाइन्सका एउटै विमान देखिँदैनन् । विमानस्थलमा अहिले संसारका अरु विमान कम्पनीका मात्र विमान देखिन्छन् । नेपाली ध्वजाबाहक विमानहरु थन्किएका छन् की कता छन् पत्तो छैन ।

राजनीतिक दलभन्दा उद्योग कम
देशमा राणा शासन हट्दा सन् १९५० मा दक्षिण कोरियाको प्रति व्यक्ति आय एक सय ५० अमेरिकी डलर भएका बेला नेपालको एक सय ७० थियो । त्यो बेला संसारका १ सय ७० मुलुक बराबर नेपालको हैसियत थियो । २ सय ५० वर्ष अगाडी नेपालभन्दा गरीव मुलुक मलेसिया अहिले हाम्रो देश बनाउँछौं भनिरहेको छ । काठमाडौं पोखरा जोड्ने द्रुत मार्ग बनाइदिन्छु भनिरहेको छ । हामी अरुसँग देश बनाइदेउ भनेर हात फैलाइरहेका छौं । देश दुखिरहेको यस्तो अवस्थामा हामी ॐ ॐ भनेर कसरी बसौं ? ध्यान मात्रै गरेर बस्न हाम्रो हृदयले मानेन ।

बिक्रम सम्बत १९५० यता हामीले राजनीतिमा धेरै लगानी गर्यौं । अहिले देशमा १ सय ५६ वटा दल छन् तर प्रजातन्त्रको पुनर्वहालीपछि नेपालमा १ सय ५६ वटा कारखाना खुल्न सकेका छैनन् । बरु मुलुकमा प्रजातन्त्र आएपछिको २५ वर्षको अवधिमा हेटौंडा कपडा उद्योग, उदयपुर सिमेन्ट कारखाना लगायतका तीन हजारभन्दा बढी कारखाना बन्द भए । बितेका २५ वर्षमा राजनीतिक दलहरुले आफ्ना कार्यकर्तालाई कारखानाको प्रबन्धक बनाए । अहिले देश विकासतर्फ अगाडी बढ्नुको साटो ब्याक गियरमा दौडिरहेको छ ।

पैसा भित्रन दिउँ, नरोकौं
विकासका लागि आएकाहरु डलरको खेती गर्न आएका हुन् भनेर भ्रम फिँजाइएको छ । उनीहरु आफ्नो देशमा एक एक गरेर जम्मा गरेको डलर खर्च गरेर नेपालको विकास गर्न आएका हुन् । गाउँमा कुनै परियोजना लिएर जान खोज्यो भने स्थानीय युवालाई मोटरसाइकल किनिदिनु पर्नेदेखि नेतालाई समेत पाल्नुपर्ने अवस्था छ । निश्चित बजेट यसरी खर्च भए उपलव्धी कहाँ देखाउने ? हामीमा लगानी बिरोधी मनोबृत्ति छ, यसले विकासलाई निरुत्साहित गर्छ ।

अन्त कतै नभएको व्यबस्था हामीकहाँ छ । बैंक खाता खोल्न नागरिकता चाहिन्छ । अरु देशले पैसा प्रशस्त भित्रियो भने देशको विकास हुन्छ भन्ने चाहन्छन् । पैसा राख्नका लागि बैंकले केहि डकुमेन्ट माग्दैनन् । हामी पैसा राख्न दिनेलाई निरुत्साहित गरिरहेका छौं । अमेरिकामा निश्चित रकम लिएर जानेले स्वतः ग्रिनकार्ड दिने व्यबस्था गरेको छ । त्यसपछि अरु सुविधा पनि दिन्छ ।

संघीयता र धर्मनिरपेक्षता गौण विषय
दलका नेताहरूको मेखबाट मुलुकको विकासको एजेन्डा सुन्न पाइएको छैन । दलहरुको घोषणापत्रमा पनि विकासका एजेन्डाभन्दा अरु गौण विषय प्राथमिकतामा परेका छन् । संघीयतामा कति प्रदेश बनाउने ६, ९ वा १३, धर्म निरपेक्ष राष्ट्र बनाउनु कत्तिको आवश्यक छ भन्ने विषय गौण थिए, विकासको एजेण्डा प्राथमिकतामा पर्नु पर्थ्यो । तर दलहरुले गौण विषयलाई प्राथमकितामा राखे । प्राथमिकताका विषय ओझेलमा परेका छन् ।

देशमा गरिबी रहेसम्म संघीयता र धर्मनिरपेक्षता लगायतका विषय प्राथमिकतामा पर्नु हुँदैन । प्रति व्यक्ति आय ५ हजार अमेरिकी डलर पुगेपछि र दैनिक २४ सय क्यालोरी खाना खान पाएपछि मात्रै कति प्रदेश बनाउनु पर्छ भनेर छलफल गरौं न । पेटमा टन्न अन्न नपर्ने नागरिक कुन धर्म मान्दा टन्न खाना मिल्छ त्यहिँ गैहाल्छन् नी ।

जेलमा बसेकाले विकास गर्दैनन्, जेल बनाउँछन्
लामो समय जेलमा बसेका नेताहरु योग्य छन् भनेर प्रधानमन्त्री, मन्त्री बनाउने चलन उचित होइन । उहाँहरुको योगदानका कारण हामीले मौलिक अधिकार पाएका छौं । स्वतन्त्रता पाएका छौं । त्यसैले मैंले यसरी बोल्ने अवसर पाएँ । तर जेलमा बसेका मान्छेले देशलाई सम्पन्न बनाउँदैनन्, देशलाई पनि जेल बनाउँछन् । किनकी उनीहरुसँग न त विकास गर्ने क्षमता हुन्छ न अनुभव नैं । हाम्रा नेताहरूलाई आन्दोलन गर्न, तोडफोड गर्न आए पनि निर्माण गर्न आउँदैन । रगत बगाउने बानी परेकाहरुले पसिना बगाउँदैनन् ।

अब देशलाई विकास चाहिएको छ । देशमा पसिना बगनु परेको छ रगत होइन । अब रगत बगाउन के जरुरी छ र ? पसिना बगाउनु पर्छ । जुन देशको प्रविधिको सहि प्रयोग गरे उनीहरु मात्रै धनी भएका छन् । जुन नेताले प्रविधि होइन भाषण गर्न मात्र जानेका छन् तिनले मुलुकलाई अगाडि लैजान सक्दैनन् ।

संविधानले थप निराशा ल्याउँछ
संविधान बनेपछि विकास निर्माणका काम भएर एकैपटक देश सम्बृद्ध हुँदैन । नागरिकमा संविधानसँगै निराशा उत्पन्न गर्ने भएकोले संविधान बनेपछि खतरनाक दिन आउन सक्छ । संविधान नभएर विकास रोकिएको होइन । संविधान आएपछि जातीयताका कुराले समाजलाई ठूलो हानी पुर्याउन सक्छ । भारतमा अंग्रेजले दुई सय वर्ष शासन गर्दा २० हजार मानिस मरेका थिए । तर मुलुक स्वतन्त्र भएपछि भारतमा जवाहरलाल नेहरु र पाकिस्तानमा मोहम्मद जिन्नाले शासन गर्दा दुई महिनामा जातीयताकै कारण २० लाख मानिस मरेका थिए ।

सबै जात, भाषा र संस्कृतिप्रति उत्तिकै सम्मान गर्नुपर्छ । दलहरूलाई सामाजिक सद्भावसँग मतलब छैन कुर्सीको मात्रै ध्यान छ । राजनीति गर्नेहरूलाई जुन नारा लगाएर भए पनि कुर्सीमा पुग्न पाए भएको छ । कर्सीमा शक्ति छ भन्ने कुरा उहाँहरुलाई थाहा छ । म पीडा बोलिरहेको छु ।

लोडसेडिङ ठूलो अभिसाप
लोडसेडिङ नेपालको विकासमा ठूलो अभिसापको रुपमा रहेको छ । नेपाल विद्युत प्राधिकरण २० वर्षदेखि पिपिए गर्न आनाकानी गरिरहेको छ । ५ वर्षमा लोडसेडिङ हट्छ भन्ने सुनेको धेरै भैसक्यो । इच्छा शक्ति हुने हो भने ६ महिनामा सोलार र वायू उर्जाबाट बिजुली निकालेर लोडसेडिङको अन्त्य गर्न सकिन्छ । साना आयोजनामा कमिसन पनि थोरै हुने र ठूला आयोजनामा कमिसन पनि धेरै हुने भएकोले सोलार, वायु उर्जाबाट विद्युत निकाल्ने साना आयोजना भन्दा ठूला आयोजना कुरिरहेका हुन् । विकास बिरोधी चिन्तनलाई हटाउनुपर्छ ।

ओशो तपोवनमा आयोजित मुलुकको वर्तमान धरातलीय यथार्थतामा आध्यात्मिक चिन्तन विषयक कार्यक्रममा दिनुभएको मन्तव्यको सम्पादित अँश : सम्पादक । 


  •  
  •  
  •