बाहिर राख्नुस् जुत्ता चोरिन्छ, अहंकार कसैले चोर्दैन

432
  •  
  •  
  •  

काठमाडौं, ६ चैत (ओएनएस) : ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले अहंकार मानिसको सबैभन्दा ठूलो सत्रु भएको बताएका छन् । मानिसले अहंकारलाई जुत्ता जसरी बाहिर राखे पनि कसैले नचोर्ने उनको भनाइ छ ।

‘हामीले ओशो तपोवनमा प्रवेश गर्ने ठाउँमैं लेखेका छौं, जुत्ता र अहंकार बाहिरै छाडेर प्रवेश गर्नुहोला ।’ ओशो तपोवनको रजत जयन्ती महोत्सवका अवसरमा विहीबार राजधानीमा आयोजित कार्यक्रममा स्वामी आनन्द अरुणले भने, ‘भित्रको काम सकेर बाहिर आउँदा बरु तपाईका जुत्ता चोरीएका हुन सक्छन् । जुत्ता नचोरिनेमा कुनै ग्यारेन्टी दिन सकिन्न । तर तपाईले बाहिरै छाडेको अहंकार कसैले चोर्दैन म त्यसको ग्यारेन्टी दिन्छु ।’

अहंकार बिनाको जीवन मात्रै सार्थक रहने बताएका उनले म ठूलो मान्छे भएँ भन्ने अहंकारले हरेक मानिसलाई बिरामी बनाउने जोड दिएका छन् । मानिसले अहँकारलाई प्राणभन्दा प्यारो ठानेका कारण अझ बढी गम्भीर बनाएको उनको भनाइ छ । अहँकारको रक्षाका लागि मानिस आत्महत्या समेत गर्न लालायित हुने बताउँदै उनले भने, ‘तपाइँ खुसी र आनन्दित हुन चाहनुहुन्छ भने त्यसको एउटे उपाय छ अहँकारलाई त्याग्नुस् ।’

अहिलेको समयमा गम्भीरताको रोगले माथिल्लो पदमा पुगेका व्यक्तिहरूलाई समेत ग्रस्त पारेको स्वामी आनन्द अरुणको भनाइ छ । उनले भने, ‘गम्भीरता सबैभन्दा ठूलो रोग बनेको छ । मानिस जति ठूलो पदमा पुग्यो, त्यस मान्छेमा गम्भीरताको रोग पनि त्यति नै ठूलो छ । अरु कसैले नमस्कार गरे पनि नमस्ते नफर्काउने चलन छ । हाकिम भएपछि कहिल्यै हाँस्नु पर्दैन भन्ने मानसिकता छ । यसले गम्भीरताबाट कहिले मुक्ति दिन्छ ?’

संसारमैं सबैभन्दा राम्रो र सस्तो औषधि नैं हाँसो र खुसी भएको स्वामी आनन्द अरुणको भनाइ छ । उनले व्यङ्ग्यात्मक तरिकाले संसारका सबैभन्दा आनन्दित व्यक्तिहरु ओशो तपोवनमा रहेको र उनीहरु हाँस्नका लागि लालायित हुन नपरेको बताए । उनले भने, ‘ओशो तपोवनमा बस्ने हामीहरु बिनाकारण आनन्दित छौं । त हामीले गोरखा दक्षिण बाहु पाएका छौं । न हामीलाई कसैले समावेशी कोटामा मनोनित नैं गरेको छ ।’

गम्भीर अनुहार बनाउन धेरै दुःख गर्नु परेको र धेरै लगानी गर्नु परेको स्वामी आनन्द अरुणले बताए । ‘हामीले सिरियस फेस बनाउन धेरै लगानी गर्नुपर्छ । युनिभर्सिटिको डिग्री लिनुपर्छ, घर बनाउनुपर्छ, जागिर खानुपर्छ र गाडी किन्नुपर्छ ।’ उनले अगाडि भने, ‘तपाईंले कुनै बालकलाई त्यस्तो गम्भीर अनुहारमा देख्नु हुन्छ ? उ सामान्य चकलेट पाउँदा पनि कत्ति खुसी र आनन्दित हुन्छ । मानिसलाई धेरै गम्भीर हुन बैंक ब्यालेन्स, विश्वविद्यालयको डिग्री चाहिने रहेछ ।’

आफू विश्वका सम्पन्न मुलुकहरुमा पुग्दासमेत हाँसेका, प्रफुल्लित र उत्साहि व्यक्ति कम मात्रै भेटेको आनन्द अरुणको भनाइ छ । त्यसैले हाँस्ने तरिका सिक्न र साँच्चै हँसिलो अनुहार बनाउन विश्वका ८० भन्दा बढी मुलुकबाट ओशो तपोवनमा आउने गरेको प्रष्ट पारेका छन् ।


  •  
  •  
  •