काठमाडौं २ असार (ओएनएस) : कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन् ।
मुटुको रक्तसञ्चारमा समस्या भएपछि सिटौलालाई सोमबार बाँसबारीस्थित सहिद गंगालाल हृदय केन्द्रमा भर्ना गरिएको छ । सभासद रामहरी खतिवडाले सिटौलाको डायबेटिज र ब्लडप्रेसर बढेकाले भर्ना गरिएको बताए ।
सिटौला उपचारका लागि आइतबार पनि नर्भिक अस्पताल भर्ना भएका थिए । चार वर्षअघि पनि सिटौलाको एन्जियोप्लास्टी गरेर मुटुमा स्टेन्ट प्रत्यारोपण गरिएको थियो ।