‘झगडियासँग हिमचिम : नैतिकता, आचारसंहिता र कानुनविपरीत’

145
  •  
  •  
  •  

kalyan
वरिष्ठतम न्यायाधीश कल्याण श्रेष्ठ

काठमाडौं १८ जेठ (ओएनएस) :
सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश कल्याण श्रेष्ठले विचाराधीन मुद्दाका पक्षसँग गएर सपिङमा जानुलाई नैतिकता, आचारसंहिता र कानुनविपरीत रहेको बताएका छन् । सर्वोच्चकै अर्का न्यायाधीश गोपाल पराजुलीले आफ्नै इजलासमा विचाराधीन मुद्दाका पक्षसँग गएर सपिङ गएको समाचार ओएनएस न्यूज डट कममा प्रकाशित भएपछि न्यायाधीश श्रेष्ठको यस्तो प्रतिक्रिया आएको हो ।

पराजुलीले आफ्नो इजलासमा विचाराधीन मुद्दाको निसु (निर्णय सुनाउने दिन) पाँचौँपल्ट सारेको तेस्रो दिन बिहीबार त्यही मुद्दाका पक्षसँग विशालबजारमा सपिङ गएका थिए । उनलाई सपिङ गराएर विशालबजार घुमाएको कुरा मुद्दाका पक्ष दामोदर कार्कीले पनि स्वीकार गरेका छन् । तर, न्यायाधीश पराजुली अदालत निरीक्षणको क्रममा जुम्ला गएकाले सम्पर्क हुन सकेको छैन । उनको मोबाइल स्वीच अफ छ ।

ओएनएससँग कुरा गर्दै न्यायाधीश श्रेष्ठले भने, ‘न्यायाधीशले कुनै झगडिया, तिनका कानुन व्यवसायीसँग हिमचिम, बसउठ गर्न मिल्दैन । यस्तो गर्न कानुन, आचार संहिता र नैतिकता सबै हिसाबले बन्देज छ । त्यसैले आचार संहिताभित्रै रहेर काम गर्नुपर्छ । अन्यथा कारवाहीको विषय बन्छ ।’

‘कुनै पनि मुद्दाको किनारा नलाग्दासम्म आफूसँग सम्बन्धित रहेको मुद्दाका पक्षहरुलाई भेट्दा न्याय निरुपणमा प्रभाव पर्छ भन्ने मानिन्छ,’ श्रेष्ठले अगाडि थपे, ‘कसले, कहाँ, कोसँग र किन भेटेको हो ? यस विषयमा विस्तृत विवरण प्राप्त भएमा कारवाही हुन्छ ।’

कारवाही कस्तो प्रकारको हुन्छ भन्नेचाहिँ उनले बताएनन् । ‘केकस्तो कारवाही हुन्छ भन्नेचाहिँ म बताउँदिनँ,’ उनको भनाइ थियो, ‘तर, कानुनको पालना नगर्नेलाई कारवाही हुनुपर्छ, हुन्छ । कारवाही नै नहुने भए नीति, नियम, कानुन र आचारसंहिता बनाउनुको के अर्थ हुन्छ र ? कस्तो खालको कारवाही हुन्छ भन्ने सन्दर्भमा कस्तो खालको आचार संहिता उल्लंघन गरेको हो भन्नेमा भर पर्छ ।’

Justice Parajuli_20140703082704
न्यायाधीश गोपाल पराजुली

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश श्रेष्ठ न्यायाधीश नियुक्ति र अनुशासनसम्बन्धी कारवाही गर्ने निकाय न्यायपरिषदका सदस्य पनि हुन् । आगामी असार २२ पछि उनी प्रधानन्यायाधीश भएर सिंगो न्यायपालिकाको नेतृत्व गर्नेछन् ।

स्पष्टवक्ता न्यायाधीशका रुपमा लिइने श्रेष्ठले यसअघि आमसञ्चारका माध्यमले न्यायाधीशमाथि निर्ममतापूर्वक उत्खनन् गरेर कलम चलाउनुपर्ने धारणा राख्दा त्यसको निकै चर्चा भएको थियो ।


  •  
  •  
  •